Tue. May 7th, 2024

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम) को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिई आज आइताबार स्वदेश फर्कनु हुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

भिओके समाचार/काठमाण्डू, २०८० माघ ७ गते आईतबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलनका राष्ट्रहरुको १९औँ शिखर सम्मेलनमा सहभागी भई आज बिहान स्वदेश फर्किनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायतले भव्य स्वागत गर्नुभएको थियो ।

विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले असंलग्न आन्दोलनले आपसी सद्भाव, सहयोग र सहकार्य अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय स्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विश्व व्यवस्थालाई न्यायपूर्ण, समतामुलक बनाउँदै सबै देशलाई स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डताको प्रत्याभुति गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरिमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व अझै बढेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा युगाण्डाका राष्ट्रपति, भारतीय विदेशमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरुसँग भेट भएको पनि बताउनु भयो ।

असंलग्न राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनले अन्तिम दस्ताबेज कम्पाला घोषणापत्र र प्यालेस्टाइन सम्बन्धी घोषणापत्र पारित गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको, सुदृढीकरण, बहुपक्षियताको प्रवद्र्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्व व्यवस्था, दक्षिण सहयोग, आन्दोलनका सदस्यहरुबीच आन्तरिक एकता र सद्भाव, ऐक्यवद्धता, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता लक्ष्यहरुमा जोड दिइएको उहाँले बताउनु भयो ।

पर्वतीय देश नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको र यहाँ बसोबास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको विषयलाई सम्मेलनमा उठाउँदै हिमालको आवाजलाई समर्थन गर्न समेत आव्हान गरेको  प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।

असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री  प्रचण्ड माघ ४ गते युगान्डा प्रस्थान गर्नुभएको थियो । सो सम्मेलन यही माघ ५ गतेदेखि ६ गतेसम्म अफ्रिकी देश गणतन्त्र युगान्डाको राजधानी कम्पालामा सम्पन्न भएको हो ।

Facebook Comments