Mon. May 6th, 2024

बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रियो

काठमाण्डू, २०८० माघ ६ गते शनिबार । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम झनै बढेको छ ।

बजारमा कर्जाको माग नहुँदा अर्थात ऋण लैजाने ग्राहक नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा पैसा थुप्रिएको हो । यसलाई अधिक तरलता भन्ने गरिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६१ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप अर्थात बचत जम्मा भएको छ । १५ दिनमै निक्षेप ३६ अर्ब रुपैयाँले बढेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । १५ दिनमा कर्जा प्रवाह भने ३२ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप अर्थात बचत भएको रकमको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाले ६१ खर्ब २१ अर्ब रुपैयाँको ९० प्रतिशत अर्थात ५५ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपथ्र्यो, तर ५० खर्ब ७४ अर्ब रुपैयाँ प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थासँग झण्डै ५ खर्ब रुपैयाँ अधिक तरलता अर्थात कर्जा नगएर पैसा थुप्रिएको छ ।

अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थासँग ऋण दिने पैसा थिएन अर्थात तरलता अभाव थियो, अहिले भने कर्जा नगएर पैसा थुप्रिएको छ ।

Facebook Comments