२०८३ कार्तिक २१, शनिवार

विश्वका पर्यटकलाई नेपाल चिनाउन ‘भिजिट नेपाल’ अभियान सुरु

       

भिओके समाचार/काठमाण्डू । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्यसहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान औपचारिक रूपमा सुरु गरिएको छ ।

डिजिटल प्रविधि, सिर्जनात्मक सामग्री र ऐतिहासिक महत्वका विषयहरु उजागर गरी नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, सम्पदा तथा विविध पर्यटकीय अनुभवलाई विश्वभरका दर्शकमाझ पुर्‍याउने लक्ष्यसहित शुक्रबारदेखि अभियान सुरु गरिएको हो ।

नेपाल सरकारको सहकार्यमा नेपाल पर्यटन बोर्ड र टिकटकले आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । । सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुने अभियानले नेपालको पर्यटन प्रवर्द्धनसँगै स्थानीय सिर्जनाकर्मी, उद्यमी, व्यवसाय तथा समुदायलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मन्त्री तिमिल्सिनाले डिजिटल प्लेटफर्मले विश्वमा पर्यटकीय गन्तव्य चिनाउने परम्परागत शैलीमा परिवर्तन ल्याएको उल्लेख गर्दै यस्ता माध्यमलाई नेपालको पर्यटन, कला, संस्कृति र उद्यमशीलताको प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, “डिजिटल प्लेटफर्मले विश्वले गन्तव्यहरू पत्ता लगाउने तरिकामा परिवर्तन ल्याएका छन् । संसारको एउटा कुनाबाट साझा गरिएको कथाले अर्को कुनामा रहेको व्यक्तिलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्छ । हामी टिकटकलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने सम्भावित दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्छौं ।”

नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार विभागका निमित्त निर्देशक सुनील शर्माले यस सहकार्यलाई नेपालको गन्तव्य प्रवर्द्धन रणनीतिमा नयाँ आयाम थप्ने महत्त्वपूर्ण सुरुवातका रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नु भयो, “यो पहल नेपालको गन्तव्य बजारीकरणको दृष्टिकोण रूपान्तरण गर्ने महत्त्वपूर्ण प्रस्थानबिन्दु हो । टिकटकसँगको सहकार्यबाट प्राप्त अनुभवलाई अन्य अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मसँगको सहकार्य विस्तार गर्दै नेपालको दृश्य र अन्तर्राष्ट्रिय पहुँच बढाउन उपयोग गर्ने हाम्रो अपेक्षा छ ।”

नेपाल केवल हेर्ने गन्तव्य नभई अनुभूति गर्ने, आत्मसात् गर्ने र स्मरणमा राख्ने अनुभव भएको उल्लेख गर्दै शर्माले सिर्जनाकर्मीहरूलाई नेपालको सुन्दर दृश्य मात्र नभई यहाँको विविधता, संस्कृति, प्रकृति र स्थानीय समुदायसँगको सम्बन्धलाई समेत आफ्ना सामग्रीमार्फत विश्वसामु प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

अभियानअन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट आएका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव विश्वव्यापी दर्शकमाझ साझा गरिरहेका छन् । उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहने कार्यक्रम छ ।

त्यसैगरी, अभियानलाई थप प्रभावकारी बनाउन टिकटकमा छुट्टै ‘#VisitNepal’ ह्यासट्याग पेज सञ्चालनमा ल्याइएको छ । नेपाल पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय कन्टेन्ट क्रिएटरसँग टिकटकको ‘कोलाब’ फिचरमार्फत सहकार्य गर्दै नेपालको मौलिक पहिचान र स्थानीय दृष्टिकोणलाई प्रवर्द्धन गर्नेछ । विभिन्न पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) समेत गरिनेछ ।

टिकटकका मिडल इस्ट, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले यस सहकार्यले नेपालको पर्यटकीय सम्भावना विश्वसामु पुर्‍याउनुका साथै स्थानीय सिर्जनाकर्मी र साना व्यवसायलाई डिजिटल अर्थतन्त्रबाट लाभ लिन सहयोग पुग्ने बताउनु भयो । उहाँले नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँगको सहकार्यलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी सामुदायिक विकास, स्थानीय उद्यमशीलता र नेपाली कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने दीर्घकालीन प्रयासका रूपमा अघि बढाउन चाहेको उल्लेख गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन प्रवर्द्धनसम्बन्धी नीति तथा प्राथमिकतासँग जोडिएको यस अभियानले नेपालको अन्तर्राष्ट्रिय बजारीकरणमा सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम र डिजिटल सिर्जनाकर्मीबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ । यसअघि टिकटक र नेपाल पर्यटन बोर्डको सहकार्यमा तीन सयभन्दा बढी स्थानीय पर्यटन व्यवसायी तथा कन्टेन्ट क्रिएटरहरुलाई डिजिटल स्टोरी टेलिङ तालिम प्रदान गरिएको थियो ।

Facebook Comments