Tue. May 7th, 2024

प्रधानमन्त्री प्रचण्ड भन्नुहुन्छ, “कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामा जोड दिएको छ”

अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम) को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिई आज आइताबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली सेनाको टोलीले स्वागत सलामी दिँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

काठमाण्डू, २०८० माघ ७ गते आईतबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज कम्पाला घोषणा पत्र पारित गरेको बताउनुभएको छ ।

युगान्डाको तीन दिने औपचारिक भ्रमण पुरा गरेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस विषयमा संक्षिप्त जानकारी दिनुभएको हो । सम्मेलनले प्यालेस्टाइन सम्बन्धी घोषणा पत्र पारित गरेको पनि उहाँले बताउनु भयो । कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको सुदृढीकरण, बहुपक्षीयताको प्रवद्र्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्व व्यवस्था, दक्षिण दक्षिण सहयोग, असंलग्न आन्दोलनका सदस्यहरुबीच आन्तरिक एकता र सद्भाव, ऐक्यवद्धता, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता लक्ष्यहरुमा जोड दिइएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

उहाँले दोस्रो विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुई ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधिनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रुपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही प्रश्न उत्पन्न भएपनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द्व, गरिबी जस्ता समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भुमिका रहेको कुरामा विमति हुन नसक्ने बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले विश्व व्यवस्थालाई न्यायपूर्ण, समतामुलक बनाउँदै सबै देशलाई स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डताको प्रत्याभुति गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरिमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व अझै बढेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा युगाण्डाका राष्ट्रपति, श्री लंकाका राष्ट्रपति, भारतीय विदेशमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरुसँग भेट भएको पनि बताउनु भयो । नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारभुत सन्तुलित र स्वतन्त्र परराष्ट्रनीति अवलम्वन गर्ने प्रचण्डले बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरुसँग आफूले वार्ता गरिसकेको भन्दै हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने जानकारी दिनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने दाबी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड माघ ४ गते राति युगाण्डा प्रस्थान गर्नुभएको थियो ।

Facebook Comments