Mon. May 6th, 2024

उत्तरी छिमेकी चीनबाट विश्वव्यापी कोरोना संकटको बेला ठूलो सहयोग सामग्री हस्तान्तरण

काठमाडौं, २०७६ चैत १६ गते आईतबार

चीनको क्वान्चौबाट साँढे १२ टन मेडिकल सामाग्री काठमाडौँ ल्याइएको छ । कोरोना परीक्षण र उपचारमा प्रयोग हुने मेडिकल सामग्री सहित नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामाग्री नेपाल ल्याइएको हो ।

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर चीनको तर्फबाट आएको सहयोग सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले अन्य सहयोगका सामाग्रीहरु छिट्टै नेपाल आउने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विश्वव्यापी संकटको बेला छिमेकीका तर्फबाट ठूलो सहयोग भएको बताउनुभयो । उहाँले कोरोना विरुद्ध विश्व एक भएर लाग्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलन

यसैबीच, सरकारले चीनबाट अनुदान तथा खरिद गरि ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा वितरण गरिने भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आजैदेखि सातै प्रदेशमा मेडिकल सामग्री तथा पीपीई वितरण गरिने जानकारी दिनुभयो ।

सरकारले खरिद गरेका स्वास्थ्य सामाग्रीमा एन ९५ मास्क, गगल्स,पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मामिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, रिएजेन्ट, परीक्षण किट तथा नमुना संकलन गर्ने ट्युबहरु रहेका छन् । देवकोटाले चीनका केही सहयोगी संस्थाले कोरोना परीक्षण गर्ने किट सहित व्यक्तिगत सुरक्षाका सामाग्री र परीक्षणमा प्रयाेग गरिने मेडिकल सामग्रीहरु सहयोग गरेको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले काठमाडौं उपत्यकामा १२ जना आइसोलेसनमा उपचाररत रहेको जानकारी दिनुभयो । उहाँले शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुइजना कोरोना संक्रमित सहित व्यक्ति सहित पाँचजना, पाटनमा ६ र कान्तिबाल अस्पतालमा १ जना आइसोलेसनमा उपचाररत रहेको बताउनुभयो ।

प्रवक्ता देवकोटाले हालसम्म ९ सय १७ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा मात्रै रिपोर्ट पोजेटिभ देखिएको बताउनुभयो । उहाँले पछिल्लो २४ घण्टामा गरिएको नमुना परीक्षणमा कुनै व्यक्तिलाई पनि कोरोना भाइरस पोजेटिभ नदेखिएको जानकारी दिनुभयो ।

उहाँले विदेशबाट आएका जोसुकै व्यक्तिले क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो ५ दिनमा कोरोना संक्रमण देखिएका सबैको अवस्था सामान्य रहेको बताउनुभयो । प्रवक्ता देवकोटाले गम्भिर अवस्थाका बिरामीलाई कुनै पनि अस्पतालले भर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै अस्पतालले बिरामीको उपचार र भर्ना गर्न नमाने कडा कारबाही गरिने जानकारी दिनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments