Wed. Apr 29th, 2026

अमेरिका–बेलायत सम्बन्धमा जोड

       

वासिङ्टन । इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा भएको भेटवार्ताले दुई देशबिचको पुरानो साझेदारीलाई पुनः केन्द्रमा ल्याएको छ । राज्यस्तरीय रात्रिभोजका क्रममा दुवै नेताले ‘विशेष सम्बन्ध’ को खुलेर प्रशंसा गर्नुभयो । यद्यपि इरानको आणविक कार्यक्रमबारे ट्रम्पले सार्वजनिक रूपमा राखेको धारणा विवादको विषय बन्यो ।

भव्य स्वागत र औपचारिक कार्यक्रमबिच आयोजित रात्रिभोजमा ट्रम्पले इरानलाई सङ्केत गर्दै आफूहरूले ‘विशेष प्रतिद्वन्द्वीलाई सैन्य रूपमा पराजित गरेको’ दाबी गर्नुभयो । उहाँले राजा चार्ल्स तृतीय पनि आफ्नो विचारसँग सहमत रहेको बताउँदै उक्त देशलाई कहिल्यै आणविक हतियार विकास गर्न नदिने अडान दोहोर्‍याउनु भयो । तर यस विषयमा राजा चार्ल्स तृतीयले प्रत्यक्ष समर्थन जनाउनुभएको कुनै सङ्केत देखिएन र उहाँले आफ्नो सम्बोधनमा इरान वा युद्ध तनावको सीधा उल्लेख गर्नुभएन ।

यसको सट्टा राजा चार्ल्स तृतीयले लन्डन र वासिङ्टनबिचको ऐतिहासिक सहकार्यलाई अझ मजबुत बनाउने आवश्यकता औँल्याउँदै बदलिँदो विश्व परिवेशमा साझा चुनौतीहरू सामना गर्न मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय गठबन्धनहरूको महत्त्व, विशेषगरी नाटो जस्ता संरचनाहरूको भूमिका, स्पष्ट रूपमा उल्लेख गर्नुभयो, जसप्रति ट्रम्पले विगतमा आलोचनात्मक धारणा राख्दै आउनुभएको छ । साथै, युक्रेनमाथि रुसको आक्रमणविरुद्ध निरन्तर समर्थन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा एप्पलका प्रमुख टिम कुक, अमेजनका जेफ बेजोस, एनभिडियाका जेन्सेन हुआङ तथा गल्फ खेलाडी रोरी म्याक्लरोय जस्ता प्रविधि र व्यवसाय क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो । भोजको मेनुमा बगैँचाको तरकारी भेलुटे, स्प्रिङ हर्बेड रावियोली, डोभर सोल म्युनियर र अन्त्यमा मह तथा भ्यानिला बिन क्रेमेक्स समावेश गरिएको थियो ।

सम्बोधनका क्रममा दुवै नेताले हल्का मजाक पनि गर्नुभयो । ट्रम्पले राजा चार्ल्स तृतीयको अमेरिकी कंग्रेसमा दिएको भाषणको प्रशंसा गर्दै डेमोक्रेट सांसदहरूलाई समेत उठ्न बाध्य बनाएको उल्लेख गर्नुभयो । जवाफमा राजा चार्ल्स तृतीयले ऐतिहासिक सन्दर्भ जोड्दै बेलायत र फ्रान्सबिचको प्रतिस्पर्धाको प्रसङ्ग उठाएर रमाइलो टिप्पणी गर्नुभयो ।

यसअघि कंग्रेसलाई सम्बोधन गर्दै राजा चार्ल्स तृतीयले लोकतान्त्रिक मूल्य, कानुनी शासन र शक्ति सन्तुलनको सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो । उहाँले म्याग्ना कार्टाको सन्दर्भ उल्लेख गर्दै यसले अमेरिकी न्याय प्रणालीमा समेत प्रभाव पारेको बताउनुभयो । उक्त अभिव्यक्तिले विशेषगरी विपक्षी डेमोक्रेट सांसदहरूबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।

राष्ट्रपति ट्रम्पले स्वागत समारोहमा बेलायतलाई अमेरिकाको सबैभन्दा नजिकको सहयोगीको रूपमा चित्रण गर्नुभयो । उहाँले अमेरिकी स्वतन्त्रतापछि पनि दुई देशबिचको सम्बन्ध निरन्तर सुदृढ रहेको उल्लेख गर्नुभयो । यद्यपि, इरानलगायत केही नीतिगत विषयमा ट्रम्पले बेलायती प्रधानमन्त्री कीर स्टार्मरको आलोचना गर्दै आउनुभएको छ, जसले सम्बन्धमा केही असहजता देखाएको छ ।

यस भ्रमणलाई सुरक्षा दृष्टिले पनि संवेदनशील मानिएको छ । वासिङ्टनमा हालै ट्रम्पमाथि कथित आक्रमण प्रयासको घटना सार्वजनिक भएपछि सुरक्षालाई कडा बनाइएको छ । हिंसात्मक गतिविधिप्रति असहमति जनाउँदै राजा चार्ल्स तृतीयले यस्ता कार्यहरू सफल नहुने स्पष्ट पार्नुभयो ।

चार दिने भ्रमण अन्तर्गत शाही दम्पतीले बुधबार न्युयोर्कको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ उहाँहरूले ९ः११ स्मारक स्थलको अवलोकन गर्नुहुने छ । त्यसपछि उहाँहरू बर्मुडातर्फ प्रस्थान गर्ने तालिका रहेको छ । रासस/एएफपी

Facebook Comments