चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको राजकीय भ्रमणका क्रममा प्योङयाङमा, कोरियाली नागरिकद्वारा भव्य स्वागत
प्योङयाङ । उत्तर कोरियाको दुईदिने राजकीय भ्रमणका लागि आज बिहान राजधानी प्योङयाङ पुग्नु भएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङलाई भव्य स्वागत गरिएको छ ।
कोरियाको वर्कर्स पार्टीका महासचिव तथा उत्तर कोरियाको राज्य मामिलाका अध्यक्ष किम जोङ उन र उहाँकी श्रीमती री सोल जुले विमानस्थलमा चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी श्रीमती पेङ लियुआनलाई भव्य स्वागत गर्नुभएको थियो । राष्ट्रपति सी चिनफिङ हवाईजहाजको भर्याङ ओर्लेपछि किमले उहाँसँग हात मिलाउनु भएको थियो ।
अध्यक्ष किमले प्योङयाङको किम इल सुङ स्क्वायरमा राष्ट्रपति सी चिनफिङको सम्मानमा भव्य स्वागत समारोह आयोजना गर्नुभएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ। सो समारोहमा २१ तोपको सलामीको बीचमा, सैन्य ब्यान्डले चीन र उत्तर कोरियाको राष्ट्रिय गान बजाएको थियो ।
किमसँगै, राष्ट्रपति सी चिनफिङले कोरियाली जन सेनाका तीनवटा सेवाहरूको सम्मान गार्डको निरीक्षण गर्नुभयो। त्यसपछि राष्ट्रपति सी चिनफिङले अध्यक्ष किमसँग मार्च पास्ट पनि हेर्नुभएको थियो ।
उत्सवको पोशाकमा सजिएका, प्योङयाङका सबै क्षेत्रका मानिसहरू, बालबालिका र किशोरकिशोरीहरू सहित, झण्डा, फूल र बेलुन बोकेर, न्यानो ताली र जयजयकारका साथ विशिष्ट चिनियाँ पाहुनाहरूलाई स्वागत गरेका थिए ।
विमानस्थलबाट किम इल सुङ स्क्वायर र किम इल सुङ स्क्वायरबाट कुमसुसान स्टेट गेस्टहाउस जाने बाटोमा, उत्तर कोरियाका नागरिकहरू सडकको दुवै छेउमा लाइन लागेर राष्ट्रपति सी चिनफिङलाई स्वागत गरेका थिए ।
भ्रमण अघि राष्ट्रपति सी चिनफिङले दुई देशहरू बीचको परम्परागत मित्रताको बारेमा छलफल गर्न र द्विपक्षीय सम्बन्धको समग्र विकासमा विचार आदानप्रदान गर्न किमसँग भेट्न उत्सुक रहेको बताउनु भएको थियो ।

