Sun. May 19th, 2024

लक डाउनको अवधि चैत्र २५ गतेसम्म थपियो, अन्तर्राष्ट्रिय उडान वैशाख ३ सम्मका लागि रोकिने

काठमाडौं, २०७६ चैत १६ गते आईतबार

मन्त्रिपरिषद्ले देशमा कोरोना भाइरस संक्रण नियन्त्रणका लागि यस अघिको लक डाउन (हिँडडु गर्न प्रतिबन्ध ) अवधि चैत २५ गतेसम्मका लागि लम्याउने निर्णय गरेको छ ।

आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मान्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

सरकारले गत सोमबार चैत्र ११ गते मंगलबार विहान ६.०० बजे देखि १८ गते मंगबार विहान ६.०० बजेसम्मका लागि एक हप्तासम्म आम नागरिकलाई घरमा नै बस्न आदेश जारी गरेको थियो । पहिलो पटक घर मै बस्न आदेश जारी भएका बेला देशभरमा जम्मा दुई जनामा मात्र कोरोना संक्रमण भएको पाइएको थियो तर अहिले शनिवारसम्म सो संख्या बढेर पाँच पुगिसकेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

यसैबीच सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ ।    

कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।

सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पूर्ववत् निर्णयअनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भन्नुभयो-“कोरोना सङ्क्रणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको छ ।”  गोरखापत्र अनलाईनबाट

 

Facebook Comments