Thu. May 2nd, 2024

अमेरिकामा संकटकाल घोषणा

काठमाडौं, २०७६ चैत १ गते शनिबार

अमेरिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै संकटकाल घोषणा गरिएको जानकारी दिनुभएको हो । संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने बारेमा कुनै जानकारी गराईएको छैन ।

विश्व स्वास्थ्य संगठनले यसअघि नै कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो । विविसीका अनुसार संकटकाल घोषणासँगै अमेरिकाले संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ । त्यसैगरी केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ बताईएको छ।

संकटकाल घोषणा गर्दै ट्रम्पले भन्नुभयो, ‘आउँदो हप्ता हाम्रा लागि निकै महत्वपूर्ण छ । कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पूरै कोसिस गर्ने छौं । यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौं ।’

शुक्रबार नै पत्रकारहरुसँग कुरा गर्दै उहाँले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गर्नुभयो । अनावश्यक रुपमा घर बाहिर ननिस्किन र भिडभाड नगर्न पनि उहाँले सुझाव दिनुभयो ।

अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ । यो रोक १४ तारिख शुक्रबार मध्यरातिबाट लागू भएको छ । साथै अन्य देशबाट अमेरिका प्रवेश गर्ने सबैलाई विमानस्थलमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ ।

Facebook Comments