Sat. Oct 19th, 2024

गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न मुख्यमन्त्री पाण्डेलाई राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको चुनौती

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २१ गते मंगलबार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागेपनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिनुभएको छ ।

सोमवार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष तिमिल्सिनाले संघीय ऐनहरु केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र स्थानीय तहको अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसदमा हात उठाउनुपर्ने बताउनु भयो ।

उहाँले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा संघीयताको हक, अधिकार नहेरी गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ भन्दै पाण्डेलाई प्रश्न गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले दलको आदेश र ह्वीपका कारण सांसदहरुले पद खोसिने डरले पनि संघीयताको अधिकार खोस्ने विधेयकमा सहमति जनाइरहेको दाबी गर्नुभयो ।

उहाँले अहिले संघीयता ठिक कि बेठिक भनेर अन्तरक्रिया गर्ने बेला नभएको उल्लेख गर्दै सबलीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । अहिले संघीयताको सैद्धान्तिक कुरा गर्ने बेला नभइ संघीयता आवश्यक छ भनेर प्रमाणित गर्नुपर्ने बेला भएको बताउनु भयो ।

Facebook Comments