Sat. Oct 19th, 2024

भारतीय सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति भण्डारीद्वारा मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २० गते सोमबार । भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा एक विशेष समारोहबीच नेपाली सेनाका परमाधिपति समेत रहनु भएका भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई आज मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि हिँजो आइतवार काठमाडौं आउनुभएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चारवटा घोडासहित रु २२ करोड ३८ लाख मूल्य बराबरको सैनिक र मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ ।

विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उहाँले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । नेपाल र भारतका प्रधानसेनापतिलाई एक अर्काको देशमा मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिन्ह र सम्मान दिने चलन रहेको छ ।

नेपालका प्रधानसेनापति प्रभुराम शर्माले यसअघि नै भारत पुगेर दज्र्यानी चिन्ह ग्रहण गरिसक्नुभएको छ । समारोहमा उहाँले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गर्नुभएको हो । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हात हतियारका पाटपूर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारीसाधन माइन प्रोटेक्टेड भेइकल र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । उहाँले आजै जङ्गी अडडा मूल भवन परिसरमा वृक्षरोपणसमेत गर्नुभयो ।

Facebook Comments