Fri. Oct 18th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता (With Video)

काठमाण्डौं, २०७८ माघ २१ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज फेब्रुअरी ४ तारिख दिउँसो चीनको राजधानी पैचिङस्थित त्याउयुथाइ स्टेट गेस्ट हाउसमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो, आज चिनियाँ परम्परागत नयाँ वर्षको चौथो दिन हुनुका साथै वसन्त ऋतुको सुरूवात पनि हो जसले राम्रो संकेत गरेको छ, आजको वसन्त भेटबाट चीन-रूस सम्बन्धलाई अरू शक्ति थपिने विश्वास मैले लिएको छु । सीले आफूले राष्ट्रपति पुटिनसँग मिलेर नयाँ ऐतिहासिक अवस्थामा चीन-रूस सम्बन्धलाई आपसी विश्वास र विभिन्न क्षेत्रका सहयोग मार्फत उपलब्धिमुलक बनाउने इच्छा लिएको बताउनु भयो ।

सी चिनफिङले दुई पक्षले अन्तर्राष्ट्रिय मामिलामा समन्वय र सहयोग गरी कोरोना महामारी नियन्त्रण, आर्थिक पुनरूत्थान, जलवायु परिवर्तनको सामना लगायत अन्तर्राष्ट्रिय जरूरी मामिलाको समाधान गर्दा ठूलो मुलुकको जिम्मेवारी देखाउनुपर्ने कुरामा जोड दिनुभयो।

सो अवसरमा राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका चिनियाँ जनताले महान विकास उपलब्धि हासिल गरेकोप्रति रूसले हार्दिक शुभकामना व्यक्त गर्नुका सथै रूसलाई चीनले सबभन्दा महत्वपूर्ण रणनीतिक साझेदारीको रूपमा राखेको र रूस-चीन सम्बन्ध नै २१औँ शताब्दीको अन्तर्राष्ट्रिय सम्बन्धको नमूना हो भन्नुभयो ।

राष्ट्रपति पुटिनले चिनियाँ जनताले विश्वलाई उच्च स्तरीय हिउँदे ओलम्पिक खेलकुद देखाउने विश्वास आफूले लिएको भन्दै रूस र चीनका खेलाडीहरूले हिउँदे ओलम्पिक खेलकुदमा असल उपलब्धि पाउने अपेक्षा आफूले लिएको पनि बताउनु भयो ।

वार्तापछि राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति पुटिनलाई दिवा भोज दिनु भएको थियो । त्यसपछि दुई पक्षले जन गणतन्त्र चीन र रूसी संघबीच नयाँ युगमा अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वको दीगो विकाससम्बन्धी संयुक्त वक्तव्य प्रकाशित गरी प्रजातन्त्र, विकास, सुरक्षा, व्यवस्थासम्बन्धी चीन र रूसका साझा अडान प्रकट गरेका छन्। साथै दुई देशका सम्बद्ध विभागले अनेकौँ महत्वपूर्ण क्षेत्रका सहयोगपत्रमा हस्ताक्षर पनि गरेका छन्। सीआरआई

Facebook Comments