Fri. Oct 18th, 2024

हिमपात, वर्षा र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित

- देशका अधिकांश क्षेत्रमा वर्षा

काठमाण्डौं, २०७८ माघ २१ गते शुक्रबार । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगजर्न/चट्याङ सहित हल्का वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ । बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । काठमाडौँ उपत्यकामा दिनभर घाम नदेखिएकाले आज निकै जाडो महशुस गरिएको छ । आज काठमाडौँको न्यूनतम ४ दशमलब ९ र अधिकतम तापक्रम ९ डिग्रिसेल्सियस रहेको छ ।

आज सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ । त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ ।

हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनबाट यो प्रणाली हटेर क्रमिक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, मधेश, बागमाती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगजर्न/चट्या/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

त्रिभुवन राजपथमा यातायात अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताउनुभयो । हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताउनुभयो । अहिले हेटौँडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

उच्च पहाडी भूभागमा हिमपात

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाएको छ ।

चिसो हावा, हिमपात र गएरातीदेखि परिरहेको पानीका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हिमपातका कारण लामोसाँघु-जिरी सडकखण्ड अवरुद्ध

शुक्रबार अपरान्ह ४ बजेदेखि करिब डेढ घण्टा भएको भारी हिमपातका कारण लामोसाँगु-जिरी सडकखण्ड अन्तर्गत खरिढुङगा क्षेत्रमा सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको हिमपातमा आज पुनः थएिपछि खरिढुङगा क्षेत्रका सडकमा हिउँ जमेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा रातिदेखि नै हल्का बर्षा भई रहेको छ । बर्षाका कारण जाडोको महसुस गरिएको छ । नेपाल टेलिभिजन

Facebook Comments