Mon. Jun 22nd, 2026

लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु   

Firefighters try to douse a fire that broke out at a coaching institute in Lucknow on June 22, 2026. (Photo by AFP)

       

लखनऊ । उत्तर प्रदेशको लखनऊको अलिगञ्ज क्षेत्रमा सोमबार कोचिङ इन्स्टिच्युटमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिकित्सकहरूका अनुसार घटनामा धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या आउँदा भएको हो ।

किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेन्डेन्ट प्रेम राज सिंहले एएनआईसँग कुराकानी गर्दै भन्नुभयो, “अस्पताल ल्याउँदा नै १५ जनाको मृत्यु भइसकेको थियो। शवहरूलाई पोस्टमोर्टमका लागि पठाइएको छ । थप सात देखि आठ जना अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

तीमध्ये दुई जनालाई सामान्य चोट लागेको छ । एक युवकको ढाडमा गम्भीर चोट लागेको देखिन्छ, हाम्रा चिकित्सकहरूले उनीहरूको उपचार गरिरहेका छन्।”

“धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर भएको देखिन्छ,” सिंहले भन्नुभयो ।

आगलागी एक भवनमा भएको थियो जसमा लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्युट थियो। एक प्रत्यक्षदर्शीका अनुसार आगो लाग्दा ठूलो आतङ्क मच्चिएको थियो र एक व्यक्तिले भवनबाट हाम फालेका थिए र उनलाई गम्भीर चोट लागेको छ ।

यसैबीच, फ्रान्सको समाचार संस्था एएफपीले आगलागीको समाचार छाप्दै भनेको छ, “भारतको लखनऊमा भएको आगलागीबाट १४ जना बालबालिकाको मृत्यु भएको र दर्जनौ अन्य घाइते वा विरामी परेका छन् ।”

उत्तर प्रदेशका उप–मुख्यमन्त्री ब्रजेश पाठकलाई उद्धृत गरी प्रकाशित उक्त समाचारमा मृत्यु हुने सबै विद्यार्थी थिए वा अरू कोही हुन् भन्ने नखुलेको उल्लेख छ ।

–मृतकका आफन्तजनलाई जनही दुई लाख उपलब्ध गराइने–    

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट राहतस्वरूप आर्थिक सहायताको घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयले एक्समा जारी एक विज्ञप्तिमा मृतकका नातेदारहरूलाई कोषबाट जनही दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने बताएको छ ।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको सन्देशमा भनिएको छ, “उत्तर प्रदेशको लखनऊमा भएको आगलागीबाट भएको दुर्घटनामा ज्यान गुमाउनेहरूको समाचारले मलाई स्तब्ध बनाएको छ । शोकाकुल परिवारप्रति मेरो समवेदना छ । घाइतेहरू चाँडै निको होऊन् । उद्धार कार्य भइरहेको छ र अधिकारीहरूले सबै सम्भव सहयोग गरिरहेका छन्।”

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ । अलीगढमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लखनऊको घटनाको जानकारी पाएपछि आफ्नो अलीगढ भ्रमण छोट्याएर तत्काल लखनऊ फर्किने बताउनुभएको थियो ।

“मलाई लखनऊमा भएको घटनाको जानकारी प्राप्त भएको छ । त्यहाँ आगलागीमा केही विद्यार्थीहरू परेका छन् र उनीहरूको दुःखद मृत्यु भएको छ । प्रशासनले उद्धार कार्य गरिरहेको छ तर यो दुःखद् घटनाका कारण म तुरुन्त लखनऊ फर्किंदैछु,” मुख्यमन्त्रीले भन्नुभएको थियो ।

शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै उहाँले भन्नुभयो, “जसले आफ्ना युवा सन्तान गुमाएका छन्, ती परिवारहरूप्रति मेरो हार्दिक समवेदना छ।”

मुख्यमन्त्रीले प्रहरी महानिर्देशक र सङ्घीय गृह मन्त्रालयका अतिरिक्त मुख्य सचिवलाई घटनास्थलमा गएर रिपोर्ट बुझाउन निर्देशन दिएको बताउनुभयो । “हामी यो घटनाको गम्भीर छानबिन गर्नेछौँ र दोषीलाई कडा कारबाही गर्नेछौँ,” उहाँले जोड दिनुभयो ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले पनि घटनामा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

“लखनऊको अलीगञ्जमा कोचिङ सेन्टरमा भएको आगलागीको घटना अत्यन्त हृदयविदारक छ। यस दुर्घटनामा आफन्त गुमाउने सबै परिवारहरूप्रति मेरो समवेदना छ। घाइतेहरूको छिट्टै स्वास्थ्यलाभको कामना गर्दछु,” राजनाथ सिंहले एक्समा लेख्नुभएको छ।  एएनआई

Facebook Comments