Sat. Apr 27th, 2024

‘मानवीय त्रुटीले यूक्रेनी विमानमा क्षेप्यास्त्र प्रहार’

काठमाडौं, २०७६ पुष २६ गते शनिबार

इरानी सेनाले यूक्रेनी विमानलाई भुलवश खसालिएको स्वीकार गरेको छ । शनिबार इरानले एक वक्तब्य जारी गरी मानवीय त्रुटिका कारण विमान खसालिएको स्वीकार गरेको हो । अमेरिकासहित पश्चिमा राष्ट्रहरुले यात्रुवाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको दाबी गर्दै आएको थियो ।

स्टेट टेलिभिजनमार्फत् सार्वजनिक गरिएको वक्तब्यमा घटनामा संलग्न ब्यक्तिहरुलाई कारबाही गरिने उल्लेख गरिएको छ ।गोरखापत्र अनलाईनका अनुसार  इरानका राष्ट्रपति हसन रुहानीले आफ्नो ट्वीटर वालमा मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले यूक्रेनी विमान दुर्घटना भएको र १७६ निर्दोष ब्यक्तिको मृत्यु भएको बताउनुभएको हो ।

उहाँले उक्त घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्तीको संज्ञा दिदै अनुसन्धान गरेर दोषीमाथि कारबाही गरिने बताउनुभएको हो । इरानी सेना रेभोल्युशनरी गार्डको रहने आकाश नजिक विमान पुगिरहँदा क्षेप्यास्त्र प्रहार गरिएको इरानले दाबी गरेको छ ।

गत् बुधबार इरानको तेहरानबाट यूक्रेनको राजधानी किभको लागि प्रस्थान गरेको यूक्रेनी विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भएको थियो । किभबाट उक्त विमानका अधिकांश यात्रु क्यानाडाको टोरन्टोका लागि प्रस्थान गर्ने तालिका थियो ।

Facebook Comments