Sat. Apr 20th, 2024

पाकिस्तानको मस्जिदमा विस्फोट : १४ मारिए, १९ घाइते

इस्लामाबाद, २०७६ पुष २६ गते शनिबार

पाकिस्तानको एक मस्जिदमा विस्फोट हुँदा एक प्रहरी अधिकृतसहित १४ जनाको मृत्यु भएको छ ।

क्वेत्तास्थित मस्जिदमा शुक्रबार साँझ विस्फोट भएको थियो । जहाँ १९ जना घाइते भएका छन् । मस्जिदमा प्रार्थनाको अवधिमा विस्फोट भएको हो । क्वेत्ता प्रहरी प्रमुख अब्दुल्लाह अफ्रिदीका अनुसार उक्त आत्मघाती हमला थियो ।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार घटनापछि सशस्त्र लडाकू समूह डाएसले विज्ञप्ति निकाल्दै घटनाको जिम्मेवारी लिएको छ । उक्त हमला अफगान तालिबानलाई लक्षित गरिएको डाएसले जनाएको छ । जब कि, तालिबान प्रवक्ता क्वरी मुहम्मद युसफले हमलाको अवधिमा कोही पनि तालिबान नेता मस्जिदमा नभएको प्रतिक्रिया दिएका छन् ।

घटनाका घाइतेहरुलाई क्वेत्ता सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ । क्वेत्ता बलोचिस्तान प्रान्तको राजधानी तथा सबैभन्दा ठूलो सहर हो । घटनास्थलमा उद्धारका लागि सेना परिचालन भएको छ ।

प्रधानमन्त्री इमरान खानले घटनाको कडा शब्दमा विरोध जनाउनुका साथै दुख व्यक्त गर्नुभएको छ । यस्तै उहाँले घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै वहाँले घाइतेको सक्दो छिटो र राम्रो उपचार गर्न आदेश दिनुभएको छ । विदेशमन्त्री शाह मोहमुद कुरैसीले पनि घटनालाई ‘पाकिस्तानको अस्थिरताका लागि निच षड्यन्त्र’ भन्दै विरोध जनाउनु भएको छ ।

Facebook Comments