Sat. Oct 19th, 2024

नक्कली नोट बनाउने मेसिनसहित काठमाडौं, कपनबाट ५ जना पक्राउ

काठमाण्डौं, २०७८ मंसिर २ गते बिहीबार । नक्कली नोट बनाउने मेसिनसहित काठमाडौं, कपनबाट ५ जना पक्राउ परेका छन् । प्रहरीले ६५ हजार ३ सय ३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका-२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।

अनलाईन खवरका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ गोमा श्रेष्ठसँग गरिएको अनुसन्धानका क्रममा थप चारजनालाई नक्कली पैसा छाप्न प्रयोग गरिने मेसिनसहित नियन्त्रणमा लिएका हौँ”, प्रवक्ता बस्नेतले भन्नुभयो ।

Facebook Comments