Fri. Sep 20th, 2024

त्रिभुवन, मातृका र जबराका कारण सहाना प्रधान जेल

काठमाडौं, २०७७ भदौं १५ गते सोमबार

राणा शासन खारेज भएपछि २००८ साल मङ्सिर १ गते नेपालको इतिहासमा जनताको छोरो पहिलो चोटि प्रधानमन्त्री भएका थिए । भनौँ, त्यतिखेर मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा सरकार बनेको थियो ।
राजा त्रिभुवनले मातृका सरकारलाई अपदस्त गरेर २००९ साल साउन ३० गते जनरल केशरशमशेर जबराको नेतृत्वमा सरकार गठन गरेका थिए । आफू सरकार प्रमुख भएपछि जबराले कोइरालालाई भेटेर आशीर्वाद पनि लिएका थिए । त्यतिखेर र त्यसपछि पनि कोइरालाले भनेका थिए- ‘यस प्रकारको शासन व्यवस्थाबाट देश अघि बढ्न सक्तैन ।’
नरेन्द्रराज प्रसाई
प्रधानमन्त्री नै भन्ने शब्द उल्लेख नभए तापनि जबरा नियुक्त सरकारको प्रमुखको पदचाहिँ परामर्शदात्री थियो । त्यतिखेरसम्म पनि जनता र राणाको विभेदको अवस्था थियो । त्यसैले जनताको छोरा हटाएर राणालाई प्रधानमन्त्रीस्तरको पद प्रदान गरिएको बेहोरालाई नेपाल कम्युनिस्ट पार्टीले घोर निन्दा गरेको थियो ।
मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीबाट हटाएको विरोधमा सहाना प्रधानहरूको आक्रोश बढिरहेको थियो । राणा सरकारलाई समेत आच्छुआच्छु पार्ने सहानालाई राजासँग पट्टा खेल्नु ठूलो कुरै थिएन ।
राजाको त्यस कदमउपर सहानाले राँको बालेकी थिइन् । त्यति बेला नेपाल महिला सङ्गठनले काठमाडौँको भूगोलपार्कमा विरोध र्यालीको आयोजना गरेको थियो । अनि नेपाल महिला सङ्गठनका तर्फबाट महासचिव सहाना प्रधानले निर्भीकतापूर्ण भाषण गरेकी थिइन् । जबरा सरकारको उघ्र बिरोध गरेकी हुँदा सहानालाई पुलिसले लछार्दै र पछार्दै खोरमा लगेको थियो ।
त्यतिखेर उनीसँगै उनका सहकर्मीहरू प्रभा नेपाली र ज्ञानुमैयाँ श्रेष्ठलाई समेत प्रहरीले पक्रेर जेल हालेको थियो । राज्यको विरोध र जनता भड्काएको अभियोगमा त्यस बखत सहानालाई चार महिना जेलमा राखिएको थियो । तर उनी जेलबाट निस्केको छ महिनापछि नै मातृकाप्रसाद कोइराला पुनः प्रधानमन्त्री नियुक्त भएका थिए ।
कोइरालालाई फेरि प्रधानमन्त्रीको पदभार दिँदै राजा त्रिभुवनबाट २०१० साल असार २ गते हुकुम भएको थियो-‘देशवासीहरूको भावनालाई बुझी निजहरू (अर्थात् परामर्शदाताहरू)को कार्यभार समाप्त गरी अरु कुनै अर्को उपाए सम्भव हुन नआएकाले भुतपूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई फेरी मन्त्रीमण्डल गठन गर्ने भारा दिई प्रधानमन्त्री नियुक्ति गरेको छु ।’
७० वर्षअघि सहानाहरूको कदम कति उच्चकोटिको थियो ? त्यस बेलाकी नामी प्रसिद्ध र सङ्घर्षले बेरिएकी सहानालाई गणतन्त्रात्मक व्यवस्थाले झल्लु र उल्लु बनाउन दुष्प्रयास गरेकै थियो । तर उनी देशभक्त, विदुषी र राजनीतिक ज्ञाता थिइन् । त्यसैले उनी अनेक षडयन्त्र र कुचक्रको सिकार हुनबाट जोगिइन् । उनको जीवनमा उनले जेजस्ताे पुरस्कार पाए तापनि अन्तत: इतिहासले उनलाई देशभक्त राजनेता मा नै रूपान्तर गरिदियाे ।
पछिल्ला दिनमा उभिएर हेर्दा नेपालमा सरकार प्रमुख या राष्ट्रप्रमुखको पद नै मात्र पनि ठूलो कुरा रहेन । इतिहासमा सुकिलो र मुकिलो भएर अजर र अमर हुन केवल सरकार प्रमुख या राष्ट्रप्रमुख नै पनि भइरहनु पर्दैन भन्ने गतिलो नजिर बहुदलीय व्यवस्थामा गणेशमान सिंह र सहाना प्रधान अनि निर्दलीय पञ्चायती व्यवस्थामा विश्वबन्धु थापा र राजेश्वर देवकोटाले नै स्थापित गरेका थिए ।
(प्रकाशोन्मुख जीवनीकृति ‘ढुङ्गाको कापमा झाङ्गिएको पीपल : सहाना प्रधान’को एउटा पाठको पनि एउटा सानो अंश ।)
नरेन्द्रराज प्रसाई बरिष्ठ लेखक तथा नई प्रकाशनका सदस्य सचिव हुनुहुन्छ ।
Facebook Comments