Fri. Sep 20th, 2024

विप्लव समूहकी नेतृ उमा भुजेलसहित दुई नेता अदालतको आदेशमा रिहा

काठमाडौं, २०७७ भदौं १५ गते सोमबार

सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् ।

पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् ।

सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष डोमन साहको रोहबरमा आइतबार साँझ रिहा गरेको हो ।

यी दुवैको हकमा प्रतिमा भुजेलले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटको आधारमा सर्वाेच्च अदालतले सम्बन्धित जिल्लामा उपस्थित गराई जिल्ला न्यायाधीशको रोहबरमा थुनामुक्त गरी सोको जानकारी गराउन सप्तरी जिल्ला अदालतलाई आदेश दिएपछि यहाँबाट दुवैलाई रिहा भएका हुन् ।

यसअघि सुनसरीमा पक्राउ परेका यी दुवै गत भदौ २ गते सुनसरी जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । रिहा भएलगत्तै सुनसरी प्रहरीले पक्राउ गरी सप्तरी प्रहरीको जिम्मा लगाएको थियो । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरले दवैबिरुद्ध अभद्र व्यवहारको आरोपमा मुद्दा दायर गरेको थियो ।

यसरी छक्याए प्रहरीलाई 

नेतृ भुजेल र नेता पौडेललाई पुनः पक्राउ गर्न अदालत परिसरमा प्रहरी परिचालित थियो । तर, प्रहरीलाई झुक्याएर दुवै जना अदालतबाट उम्किएका छन् ।

जिल्ला अदालतको गेट अगाडि प्रहरी निरीक्षकको नेतृत्वमा दुवैलाई पुनः नियन्त्रणमा लिन प्रहरी परिचालित भए पनि दुवै जना अदालतको पछाडितिरको गेटबाट उम्किएका  थिए । विप्लव नेतृत्वका दुवै नेता बेपत्ता भएपछि प्रहरीले पत्ता लगाउन सकृयता देखाएको छ ।

उनीहरुलाई फेला नपारेपछि प्रहरीले अदालतका कोठा–कोठामा पसेर खोजेको थियो ।

जिल्ला बारका अध्यक्ष डोमन साहले प्रहरीको यो कदमलाई स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भन्दै बिरोध जनाएका छन् । अनलाईन खवरबाट

Facebook Comments