Tue. Apr 23rd, 2024

ओलीले दाहाल र पौडेलसँग भने- अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिनँ

- दाहाल-नेपाल समूहको आरोप- 'ओलीले पार्टी फुटाइसके'

काठमाडौं, २०७७ असार १८ गते बिहीबार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । बिहीबार अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले दुवै पद नछाड्ने र अन्य कुरा भए गर्न तयार रहेको बताएका हुन् ।

‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं, म तयारै छु,’ ओलीले दाहाल र महासचिव पौडेलसँग भनेको भनाई उद्धत गर्दै नेकपा सचिवालयका एक नेताले बताए । दाहाल नेपाल समूहले दुवै पदबाट राजीनामा दिन माग गरेको छ ।

मन्त्रिपरिषद् बैठकबाट संघीय संसदको अधिवेशन अन्त्य गरेपछि अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेललाई ओलीसँग कुरा गर्न सचिवालयका अरु नेताहरुले सुझाएका थिए । ‘बिहान दाहालसँग मन्त्रिपरिषद्को बैठक स्थगित गर्ने, संघीय संसद बैठक स्थगित नगर्ने भन्ने समझदारी भएको रहेछ । त्यो समझदारीविपरित ओलीले त्यस्तो निर्णय गरेपछि हामीले कुरा गर्न पठाएका थियौं । तर, अध्यक्ष दाहाल र महासचिव पौडेलसँग ओलीले दुवै नछाड्ने अडान लिएर बसेका रहेछन्,’ ती नेताले भने ।

संसद् अधिवेशन अन्त्य गरेर ओलीले पहिला जस्तो पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउने र पार्टी फुटाउने दिशामा जान लागेको देखिसकेपछि नेताहरुले दाहाललाई राष्ट्रपतिसँग पनि छलफलका लागि पठाएका थिए । ‘यसअघि जुन अध्यादेश ल्याउँदा सारा जनताले विरोध गरे त्यस्तै अध्यादेश ल्याउँदा राष्ट्रपतिले त सोच्नु पर्छ नि भन्न दाहाल शितलनिवास पुग्नु भएको हो,’ ती नेताले भने ।

ओलीको यस्तो भनाईपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाईसकेको निष्कर्ष निकालेको छ । यद्यपि औपचारिक घोषणा नगरेकाले संवाद गर्नुपर्ने यो समूहको भनाई छ । बिहिबार बालुवाटारमा जारी छैटौं दिनको स्थायी कमिटी बैठक केहिबेर स्थगित गरेर अध्यक्ष दाहालले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका थिए ।

‘पार्टी त केपी ओलीले फुटाइसक्नु भयो । तैपनि औपचारिक घोषणा नगरेको कारण हामीले इमान्दारीपूर्वक सम्पूर्ण प्रयत्न गर्नुपर्छ, गरौं,’प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर फर्किएपछि स्थायी कमिटी बैठकमा दाहालले सुनाएका थिए।

सचिवालयका ती नेताले भने, ‘पार्टी नफुटाउने उपाए पनि छ एउटा । ओलीज्यू, तपाई जीवन रहने बेलासम्म अध्यक्ष बन्नुस्, तपाई प्रधानमन्त्री पनि बन्नुस् । हामी दास र रैति हुन पाउँ । विदेशीलाई जे-जे गरेपनि तपाईले गर्नुस् भनेपछि पार्टी एकता बच्छ भनेर सुम्पने । नत्र केपी ओलीले पार्टी फुटाईसके ।’

स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ । कान्तिपुर अनलाईनबाट

Facebook Comments