Tue. May 7th, 2024

नेपाल कम्युनिष्ट पार्टीद्वारा एमसीसीलगायत सात वटा मुख्य कार्यसूची तय

काठमाडौं, २०७७ असार १० गते बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पाँचौ स्थायी कमिटिको आजको बैठकले सात वटा मुख्य कार्यसूची तय गरेको छ ।

कार्यसूचीमा अ‍मेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), कोरोनालगायतका विषयलाई समेट्ने निर्णय गरेको पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताउनुभयो । बैठककाे अन्य कार्यसूचीमा बैठकको शुरुमा नै पार्टीका अध्यक्ष द्वयले विचार राख्ने, कोरोना सङ्क्रमण नियन्त्रण तथा उपचार, सीमा समस्या, सरकारको कामको समीक्षा, पार्टीको कामको समीक्षा, पार्टी एकीकरणको बाँकी साङ्गठनिक एकीकरणलगायत विषय र एमसीसी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, विविध विषयमा रुकुमको सोती घटना, हाल संसदमा राज्य व्यवस्था समितिले पारित गरेको नागरिकता विधेयक, कोभिड-१९ को रोकथामका लागि कर्मचारीले कुनै भत्ता नलिने विषयमा गरेको निर्णयसँगै सङ्घीय सांसदहरूले सोही अनुसार गर्न सकिन्छ कि ? भन्ने विषयमा आफ्नो पार्टी र अन्य दलहरूसँग छलफल गर्नेजस्ता कुरा समेटिएको उहाँले जानकारी दिनुभयो । गोरखापत्र अनलाईनका अनुसार बैठकमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र समग्र परिस्थितिका बारेमा सकारात्मक र कमजोर पाटाहरू राख्न र सकारात्मक सन्देश दिने गरी स्वस्थ आलोचनात्मक र जिम्मेवारीपूर्वक विचार राख्न आग्रह गर्नुभएको बताउनुभयो ।

अर्का पार्टी अध्यक्ष प्रचण्डले समग्र पार्टी, देशको परिस्थिति सबै कुरालाई विचार गरेर पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारीबारे सकारात्मक विचार राख्न र आफ्ना कमीकमजाेरीको जो-जसबाट भएको छ उसले जिम्मेवारी लिन आग्रह गर्नुभयाे ।

अर्को बैठक असार १२ गते बस्ने तय भएको छ ।

Facebook Comments