Sat. May 4th, 2024

राष्ट्रसंघीय सुरक्षा परिषद्‍को अस्थायी सदस्यमा भारत निर्विरोध निर्वाचित

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय तस्बिर : एजेन्सी

काठमाडौं, २०७७ असार ४ गते बिहीबार

राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित भएका छन् ।

नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् २०२२ सम्म हुनेछ । नयाँ सदस्यको कार्यकाल जनवरी १, २०२१ बाट सुरु हुन्छ ।

धेरै लामो समयदेखिको पहल र अभियानका बाबजुद क्यानडा भने निर्वाचित हुन सकेन । ‘वेस्टर्न ब्लक’ को २ सिटका लागि भएको निर्वाचनमा क्यानडा आयरल्यान्ड र नर्वेसँग पराजित भयो । प्रधानमन्त्री जस्टिन ट्रुडोले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन १३ जना कर्मचारी नै खटाएका थिए ।

एसिया प्रशान्त क्षेत्रका लागि भारत भने निर्विरोध निर्वाचित भएको हो । भारतले १८४ मत प्राप्त गऱ्यो । त्यस्तै मेक्सिकोले १८७ मत प्राप्त गऱ्यो । अफ्रिकाबाट केन्याले ११३ मत प्राप्त गर्दा जिबुटीले ७८ मत प्राप्त गऱ्यो । अफ्रिका क्षेत्रका लागि बिहीबार फेरि दोस्रो चरणका लागि मतदान हुनेछ ।

बुधबार संयुक्त राष्ट्र संघको महासभाले अस्थायी सदस्यका रुपमा यी चार मुलुकलाई निर्वाचित गरेको हो ।

राष्ट्रसंघीय सुरक्षा परिषद्मा १० वटा देश अस्थायी सदस्यका रुपमा प्रत्येक दुई वर्षमा निर्वाचि हुन्छन् । बेलायत, चीन, फ्रान्स, रुस र अमेरिका भने सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । स्थायी सदस्यसँग भिटो पावर हुन्छ । राष्ट्रसंघीय सुरक्षा परिषद्मा आगामी दुई वर्ष (२०२१-२२) का लागि अस्थायी सदस्य रहने यो तहमा एकैसाथ एसिया प्यासिफिकसहित अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिकी तथा क्यारेबियन, पश्चिमी युरोप तथा अन्य गरेर ५ सदस्यको निर्वाचन हुनेछ ।

राष्ट्रसंघीय सुरक्षा परिषद्ले शान्तिस्थापना, अन्तर्राष्ट्रिय प्रतिबन्ध र विश्वका विभिन्न क्षेत्रमा देखिएका द्वन्द्व न्यूनीकरणका लागि काम गर्दै आएको छ ।

चीनसँग तनाव बढिरहेको अवस्थमा भारत राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाल यसअघि, सन् १९६९-७० र १९८८-८९ को दुई चरणमा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भइसकेको छ । राष्ट्रसंघीय मानवअधिकार परिषदमा पनि हाल नेपाल सदस्य छ । कान्तिपुर अनलाईनबाट

Facebook Comments