Sat. May 18th, 2024

प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल कालापानीमा

दार्चुलाको घाटी बगर क्षेत्रमा नेपाली सेनाले बनाएको घोरेटोबाटोको अनुगमन गर्दै प्रधान सेनापति पूर्णचन्द थापा र सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी शैलेन्द्र खनाल ।

दार्चुला, २०७७ असार ४ गते बिहीबार

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी शैलेन्द्र खनाल कालापानी निरीक्षणमा आएका छन्। बुधबार नेपाल भारत सीमा ब्यास क्षेत्रको स्थलगत निरीक्षण भ्रमणमा आएका हुन्।

उनीहरुसँगै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदी, सशस्त्रका डीआईजी हरिशंकर बुढाथोकी, सुदूरपश्मि पृतिना पति निर्मलकुमार थापा उपरथी पनि पुगेका थिए। उनीसँगै नेपाली सेनाका सहायक रथी सहदेब खडका पनि बुधबार सेनाको स्काई ट्रकमार्फत् दार्चुला पुगेका छन‍्। केही दिन अघि सशस्त्र प्रहरीले स्थापनाको गरेको कालापानीको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण र दार्चुला तिङ्कर सडकखण्डको अनुगमन गरेर फर्किएका छन्।

नेपाल सरकारले अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग नेपालको नक्सामा समेटेको र निशान छापसमेत संशोधन गरेसँगै उच्च सुरक्षा अधिकारीको टोलीले ब्यास क्षेत्रको भ्रमण गरेको हो ।

पछिल्लो समय नेपाल सरकारले ब्यास क्षेत्रलाई प्राथमिकताका साथ सीमा सुरक्षामा सक्रियता देखाएको छ। छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी र घाँटिबगरमा रहेको नेपाली सेनाको अस्थायी क्याम्पको निरीक्षणका लागि प्रधानसेनापति र सशस्त्र आइजीपि दार्चुला पुगेका हुन्। गत बैशाख ३१ गते छाङरुमा सशस्त्र बीओपी स्थापना भएको थियो भने जेठ ७ गते घाँटिबगरमा नेपाली सेनाको अस्थायी बेस क्याम्प राखिएको थियो। सीमा सुरक्षाका लागि सशस्त्र बीओपी र घोरेटो बाटो निर्माणका लागि सेनाको क्याम्प राखिएको हो।

दार्चुलामा सशस्त्रको गण छिटै स्थापना : महानिरीक्षक खनाल
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनालले दार्चुला जिल्लामा छिट्टै सशस्त्र प्रहरीको गण स्थापना गरिने बताए। बुधबार दार्चुला जिल्लाको ब्यास गाउँपालिका-१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नेपालको विओपी अनुगमनमा दार्चुला पुगेका खनालले यस्तो बताएका हुन्। दार्चुला सदरमुकाम खलंगामा रहेको गुल्मलाई गण बनाइने छ भने ब्यासको छांगरुमा सशस्त्रको गुल्म स्थापना हुने छ। यस्तै लेकमको लाली, मालिकार्जुनको जोलजीवि र ब्यासको दुम्लीङमा बीओपी  राख्ने सशस्त्रको तयारी छ।

सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएका १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमा निगरानी गरिरहेको खनालले बताए। उनले भने, ‘सीमामा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी सशस्त्र प्रहरी खटिरहेको छ। सीमा बस्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरि काम गछौँ।’ अहिले पनि सीमामा बस्ने नागरिक सन्तुष्ट रहेको भन्दै थप स्रोत साधनले भ्याएसम्म सशस्त्र प्रहरी परिचालन गरिने बताए।

‘सीमामा बस्ने नागरिकलाई स्वास्थ्य सेवा जरुरी छ। ब्यासको छांगरु तिंकरमा कम्तीमा अहिले १५ शैय्याको अस्पताल निर्माण गर्न सक्यौं भने त्यहाँका नागरिकले पनि सुविधा पाउँछन्। यसको लागि थप पहल मिडियाले पनि गर्नु आवश्यक छ’, खनालले भने, ‘डाक्टरको आवश्यकता पर्‍यो भने हामीले सशस्त्र प्रहरीबाट डाक्टर नै खटाउन सक्छौँ।’

नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी काम भइरहेको भन्दै ब्यासमा गुल्मको लागि भवन निर्माणको लागि प्रक्रिया अघि बढेको बताए। ‘धेरै समय लाग्दैन छिटै गुल्म स्थापना गरेर सीमामा बस्ने नागरिकलाई सहज वातावरण बनाउँछौँ’, खनालले भने।

सेनाले बनायो १२५ मिटर बाटो 

सशस्त्र प्रहरी बल नेपाल न ५० गुल्म हेडक्वाटर दार्चुलाको नव निर्मित भवनको उद्घाटन गर्दै शस्त्र प्रहरी महानिरीक्षक आइजीपी शैलेन्द्र खनाल ।

नेपाली सेनाले जेठ ८ गते घाटीबगडमा गोरेटो बाटोको निमार्ण कार्य सुरु गरेको हो। सुरु भएदेखि हालसम्म १ सय २५ मिटर गोरेटो बाटो सम्पन्न गरेको छ भने बाँकी ३ सय मिटरभन्दा बढी असार मसान्तभित्रमा सम्पन्न गर्ने योजना रहेको दुर्गादल गुल्म दार्चुलाका गुल्म पति श्यामराजा बिक्रम थापाले बताए।अन्नपूर्ण पोष्ट  दैनिक अनलाईनबाट

Facebook Comments