Thu. Apr 25th, 2024

पूर्व ब्रिटिस-गोर्खा सैनिक राईको ‘गोर्खा गन्स’ बेलायतबाट प्रकाशित

गणेश राई

काठमाडौं, २०७७ जेठ २८ गते बुधबार

चर्चित साहित्यकार तथा युद्धसाहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धि संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ बेलायतबाट प्रकाशित भएको छ ।

अवकाशप्राप्त ब्रिटिस-गोेर्खा सैनिक राईको उक्त कृति बेलायतको प्रतिष्ठित प्रकाशनगृह द कनराड प्रेसबाट हालै प्रकाशित भएको हो ।

‘राईफलले फलाकेको जिन्दगी’ कविता सङ्ग्रहका साथै ‘राईफलको नालबाट जीवन नियाल्दा,’ ‘युद्ध एम्बुसमा राईफलको संगीत’, ‘राईफलको मूच्र्छना’ र ‘फोकल्यान्ड जर्नल’जस्ता आख्यानात्मक कृतिका स्रष्टा राईको ‘गोर्खा गन्स’ उहाँको ‘फोकल्यान्ड जर्नल’को अङ्ग्रेजी अनुवाद हो ।

कवि, समालोचक तथा अनुवादक सुरेश हाचेकालीद्वारा अनूदित ‘गोर्खा गन्स’मा फोकल्यान्ड युद्धको यथार्थ चित्रण गरिएको छ । उक्त कृतिबाट गोर्खालीहरूको सौर्य, बहादुरी, त्याग र बलिदानको सत्यतथ्य इतिहासको पुनर्लेखन गर्नमा महत्वपूर्ण मद्दत पुग्ने देखिन्छ । यसका साथै फोकल्यान्ड युद्धका बेला गोर्खाली सैनिकहरूमाथि थोपरिएका अनेक खाले भ्रामक अफवाहहरूको निर्मलीकरण गर्नमा समेत उक्त कृति सफल रहेको छ ।

फोकल्यान्ड युद्धका बारेमा अंग्रेजी लेखकका अनेकौँ पुस्तकहरू प्रकाशित भएका छन् तर स्वयं फोकल्यान्ड युद्ध लडेका गोर्खा सैनिक राईद्वारा लेखिएको उक्त कृतिले फोकल्यान्ड युद्ध र सो युद्धमा गोर्खालीहरूले निर्वाह गरेका भूमिकाका बारेमा ओझेलमा पारिएका सत्यहरूको उत्खनन् गरेको छ ।

प्रसिद्ध बेलायती अभिनेत्री जोअना लुम्लेले उक्त कृतिलाई ‘एउटा युवा गोर्खा सैनिकको मष्तिस्कमा फोकल्यान्ड युद्धका समयमा चित्रित अमूल्य झलक र सैनिकहरूको साधारण तर हृदयविदारक कथा’ भन्नु भएको छ ।

एक सय ७६ पृष्ठको उक्त कृति बेलायतका सबै पुस्तक पसलका साथै वाटरस्टोन्स, बुक डिपोजिटरी र अमाजन आदिमा उपलब्ध छ ।

Facebook Comments