Tue. Sep 17th, 2024

सिमलताल पहिरो : भारतीय टोली परिचालन   

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को टोली जिल्ला प्रशासन कार्यालय चितवनमा । टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि यहाँ आएका हुन् । गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली यसपछि घटनास्थलतर्फ लागेको छ । टोलीले आजैदेखि काम थाल्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । तस्बिर : सनद अधिकारी/रासस

चितवन, २०८१ साउन ५ गते शनिबार । नारागणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि परिचालन भएको छ । भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आजबाट खोजतलासका लागि घटनास्थल आइपुगेको हो । खोजतलासमा परिचालिन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेको बताउनुभयो । आज टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गर्ने उहाँले बताउनुभयो ।

खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथासक्य छिटो खोजतलासको काममा जुट्ने बताउनुभयो । उहाँले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताउनुभयो । धमिलो र उच्च वहाबका नदीमा खोजतलास कार्य भारतमा गरेको भन्दै उहाँले यहाँ काम गर्न सकिने बताउनुभयो ।

सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज चितवन आइपुगेको हो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका छन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको यादवले जानकारी दिनुभयो । ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने जानकारी दिनुभयो । टोली सात दिनसम्म रहने उहाँको भनाइ छ । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाण्डू जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाण्डूबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएका छन् । अझै ३७ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।  रासस

Facebook Comments