२०८३ आश्विन ७, बुधवार

न्युयोर्कबाट प्रधानमन्त्री शाहको आग्रह : अति भारी वर्षा हुँदै छ, उच्च सतर्कता अपनाउनु होला

       
  • असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना ।
  • बाढी, पहिरो र डुबानको जोखिममा विशेष सतर्क रहन आग्रह ।
  • राति राजमार्ग यात्रा नगर्न तथा हिमाली क्षेत्रको यात्रा स्थगित गर्न अपिल ।

भिओके समाचार/काठमाण्डू । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आगामी शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले आज फेसबुकमार्फत सन्देश जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने जानकारी दिनुभएको हो ।

उहाँका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

सम्भावित मौसम प्रणालीका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम रहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।

सम्भावित वर्षाका कारण गेग्रान बहावसँगै सडक तथा हवाई यातायातमा समेत अवरोध आउनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन उहाँले सम्पूर्ण नागरिकलाई अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न आग्रह गर्नुभएको छ । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका बस्तीमा विशेष सतर्कता अपनाउनसमेत उहाँले अपिल गर्नुभएको छ ।

त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ । मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

 

Facebook Comments