Wed. Jun 26th, 2024

प्रधानमन्त्री प्रचण्डसँग सिपिपिसिसीका उपाध्यक्ष बेटरको शिष्टाचार भेट

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष श्री बटरबीच शिष्टाचार भेट गर्दै। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाण्डू, २०८१ असार २ गते आईतबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बेटरले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने र महत्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिनुभयो ।

राससका अनुसार प्रधानमन्त्री प्रचण्डले दुई देशबीच भएका अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । चीन र नेपालबीचको संसदीय अभ्यासको आदानप्रदानलाई आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने बारेमा पनि उहाँहरूबीच छलफल भएको थियो ।

त्यस अवसरमा सिपिपि सिसीका उपाध्यक्ष बेटरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाउनुभयो ।

भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी हुनुहुन्थ्यो भने चीन सरकारकातर्फबाट त्यहाँको कृषि तथा ग्रामीण क्षेत्रसम्बन्धी समितिका उपाध्यक्ष छिथला र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी हुनुहुन्थ्यो । चिनियाँ प्रतिनिधि मण्डलले आज बिहान विश्व सम्पदा सूचिमा सूचिकृत भक्तपुर दरबारक्षेत्रको भ्रमण गरेको थियो ।

Facebook Comments