Sat. May 4th, 2024

चर्चित भारतीय अभिनेता इरफान खानको निधन

काठमाडौं, २०७७ बैशाक १७ गते बुधबार

चर्चित भारतीय अभिनेता इरफान खानको आज निधन भएको छ ।

खानको स्वास्थ्य बिग्रिएपछि मङ्गलवार उहाँलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। तर उहाँलाई सघन उपचार कक्षमा भर्ना गरिनुको कारण थाहा नभएको बीबीसीले जनाएको छ।

खानले पानसिंह तोमर, मकबूल, तुलसी, सलाम बाम्बे, द लन्च बक्स, लाइफ अफ पाई, जुर्‍यासिक वर्ल्ड, स्लमडग मिलीअनेअरजस्ता बलीवुड र हलीवुडमा बनेका चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ ।

इरफान खानको जन्म ७ जनवरी १९६६ मा भारतको जयपुरमा भएको थियो । उहाँलाई कला क्षेत्रको विकासमा योगदान पुर्याए वापत सन् २०११ मा पद्म श्री सम्मान प्रदान गरिएको थियो । जुन सम्मान भारतको चौथो सर्वोच्च नागरिक सम्मान हो ।

५४ वर्षको उमेरमा बुधबार बिहान संसार छाड्नु भएका इरफान खानले ४ दिनअघिमात्रै आमा गुमाउनु भएको थियो । उहाँकी ९५ वर्षीय आमाको शनिबार जयपुरमा निधन भएको थियो। तर लकडाउनका कारण वहाँ आमाको अन्तिम संस्कारमा सहभागी हुन सक्नु भएन ।

खानको निधनमा भारत तथा अन्य देशबाट धेरैले शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा धेरैले उनको मृत्युमा दु:ख व्यक्त गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खानको निधनका कारण चलचित्र क्षेत्रमा ठूलो क्षति भएको बताउनु भएको छ । खानको अभिनयको धेरैले प्रशंसा गरेका छन्।

स्वर्गीय खानलाई हाम्रो पनि हार्दिक श्रद्धाञ्जली ।

Facebook Comments