Sat. May 18th, 2024

संक्रमण फैलनु अघि १२ पटक ट्रम्पलाई अवगत् गराएको सीआइएको दाबी

- कोरोना अनि अमेरिका

काठमाडौं, २०७७ बैशाक १७ गते बुधबार

अमेरिकामा कोरोनाभाइरस महामारीको रुप लिनुअघि ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’(सीआईए)ले संक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १२ पटक ध्यानाकर्षण गराएको खुलेको छ । बहालबाला अनुसन्धान अधिकारी र केही पूर्व अधिकारीले अमेरिकी अखबार द् वाशिंगटन पोष्टसँगको कुराकानीमा यसप्रकारको खुलासा गरेका हुन् ।

समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति समक्ष दैनिक हुने संक्षिप्त बैठकमा सीआईएका अधिकारीहरुले जनवरी र फेब्रुअरी महिनामा संक्रमण फैल्न सक्ने जोखिमको बारेमा अवगत् गराएको उल्लेख गरेको छ । उक्त ध्यानाकर्षणको राष्ट्रपति ट्रम्पले उपेक्षा गर्नुभएको उहाँहरुको गुनासो छ ।

राष्ट्रपति ट्रम्पसँगको बैठकमा संक्रामक गतिविधिबारे अद्यावधिक सूचना दिए पनि उहाँले गम्भिरतापूर्वक नलिदा अमेरिका यस प्रकारको जोखिममा परेको उहाँहरुले तर्क गर्नुभएको छ । कोरोनाभाइरस संक्रमणबाट बुधबारसम्म कम्तिमा ५६ हजार बढीको मृत्यु भएको छ ।

फेब्रुअरी २६ मा राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा आगामी दुई दिनभित्र नयाँ थपिने संक्रमित शून्यमा झर्ने दाबी गर्नुभएको थियो । त्यत्ति नै बेला अमेरिकामा संक्रमण समुदाय स्तरमा भुसको आगो सरह फैलिदै थियो । मार्च १० मा राष्ट्रपति ट्रम्पले संयमित हुन आग्रह गर्नुहुँदै केहीदिन भित्रै कोरोनाभाइरस बिलिन हुने बताउनुभएको थियो । विश्व स्वास्थ्य संगठनले मार्च ११ मा कोभिड-१९ को संक्रमणलाई विश्वब्यापी महामारी घोषणा गर्यो ।

वाशिंगटन पोष्टका दुईजना वरिष्ठ सम्वाद्दाता ग्रेग मिलर र एलन नकाशिमाका अनुसार अधिकारीहरुले यस प्रकारको चेताबनी दिइरहँदा राष्ट्रपति ट्रम्प इरानसँगको सुरक्षा मामिला र आफ्नो महाभियोगको छलफलमा ब्यस्त हुनुहुन्थ्यो ।

कोभिड-१९ बाट विश्वभरि संक्रमित भएकामध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा छन् । गोरखापत्र अनलाईनबाट

Facebook Comments