Wed. May 15th, 2024

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

काठमाण्डू, २०८० फागुन २९ गते मंगलबार । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित हुनुभएका दाहालले शपथ ग्रहण गरेर साँझ सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा मङ्‌गलबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथपछि राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग अध्यक्ष दाहाल परिवारसहित सामूहिक तस्बिरमा सहभागी हुँदै । तस्बिर :रत्न श्रेष्ठ / रासस

पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभाको काम जनतालाई अनुभुति हुनेगरी अगाडी बढाउने बताउनु भयो । उहाँले सचिवालयका कर्मचारीहरुका बीचमा एकता र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै काम गर्ने क्रममा धेरै औपचारिकतामा गएर विलम्व नगर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले धेरै ऐन, कानूनहरु निर्माण हुन बाँकी रहेका भन्दै ती ऐन, कानून निर्माणमा जोड दिइने बताउनु भयो । उहाँले राष्ट्रिय सभालाई जनताको बीचमा स्थापित गर्नेगरी काम गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले सभामा भएका छलफल र गरिएका निर्णयहरु कार्यान्वयन गराउन पनि आफ्नो ध्यान पुग्ने बताउनु भयो । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका दाहाल आज राष्ट्रियसभाको बैठकमा भएको मतविभाजन प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्तुत गरिएको प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १७ मत खसेको थियो ।

नेपाली कांग्रेसका उमेद्वार युवराज शर्मा यस निर्वाचनमा पराजित हुनु भएको छ । मत विभाजन प्रक्रियामा ५६ जना सदस्यहरु उपस्थित रहेका थिए । दुई वर्षअघि राष्ट्रपतिबाट मनोनीत हुनुभएका दाहालको कार्यकाल चार वर्ष बाँकी रहेकाले उहाँले आगामी चार वर्ष राष्ट्रियसभाको नेतृत्व गर्नुहुनेछ । रासस

Facebook Comments