Sun. May 12th, 2024

सञ्चालनमा आए चिया बगान, फस्ट फ्लस चिया बगानमा नै हुर्केकाले करोडौँ रुपैयाँ नोक्सान

काठमाडौं, २०७७ बैशाक ४ गते बिहीबार

नेपाल चिया विकास निगम अन्तर्गतका चिया कमान सञ्चालनमा आएका छन् ।

चिया विकास निगमले बुधबारदेखि झापा मेचीनगर नगरपालिकाको टोकला चिया कमान सञ्चालनमा ल्याएको हो । सरकारले चिया बगान तथा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनका लागि आह्वान गर्दै आए पनि अधिकांश चिया कमान बन्द थिए ।

कोरोना भाइसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिया बगान तथा उद्योग बन्द हुँदा करोडौं मूल्य बराबरको चिया बगानमा नै खेर गएको छ । बगान सञ्चालनमा ल्याए पनि लामो समयदेखि जारी लकडाउनका कारण बगानममै हुर्केको ‘फस्ट फ्लस’ (चियाको पहिलो टिपाई) चिया काम नलाग्ने भइसकेको बगान सञ्चालक बताउँछन् ।

गत चैत १९ गते प्रदेश-१ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चिया टिप्न, ढुवानी गर्न, कारखाना सञ्चालन गर्न स्थानीय तहलाई सुरक्षित मापदण्ड बनाई कार्यान्वयन तथा अनुगमन गर्न निर्देशन दिएको थियो । सोहीबमोजिम स्थानीय सरकारसँगको समन्वयमा बगान सञ्चालनमा ल्याइएको नेपाल चिया विकास निगमका प्रमुख लोकनाथ दंगालले बताउनु भयो । टोकला चिया कमान मेचीनगरबाट बुधबार ३ हजार किलो हरियो चिया पत्ती टिपेको प्रमुख दंगालले जानकारी  दिनुभयो । कमानमा कार्यरत २ सय मजदुरमा १ सय ८० जना बढी मजदुर काममा आएको उहाँले बताउनुभयो ।

“हामीले जोखिमरहित अवस्थामा चिया बगान सञ्चालनमा ल्याएका छौँ” दंगाल  भन्नुहुन्छ, “मजदुरलाई आवश्यक मास्क, पञ्जा, सेनिटाइजर, साबुन पानी, चस्माको व्यवस्था गरेका छौँ ।” फस्ट फ्लस चिया त कामै लगाग्ने अवस्थामा पुगेको उहाँ सुनाउनु हुन्छ। “हुर्कन बाँकी रहेका केही चियाका मुना टिपेर चिया फाँड्ने काम सुरु गरिएको हो” दंगाल भन्नुहुन्छ, “अहिले चिया नफाँड्ने हो भने, अब पलाउने मुनासमेत पलाउन सक्दैन ।” सामाजिक दूरी कायम गरी, सावाधानी अपनाएर चिया बगान सञ्चालनमा ल्याइएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले बताउनुभयो ।

नेपाल चिया विकास निगम अन्तर्गतको बर्ने चिया कमानमा पानी हाल्ने, दबै लगाउने र गोडमेल गर्ने काम भइरहेको छ । बर्ने चिया कमानमा बिहीबार (आज)देखि चिया टिप्ने र फाँड्ने काम शुरु गरिने प्रमुख दंगालले जानकारी दिनुभयो  निगम अन्तर्गतको इलाम चिया कमान सञ्चालनका लागि इलाम नगरपालिकाले अनुमति दिएको  उहाँ बताउनुहुन्छ । त्यस्तै इलामकै सूर्योदय नगरपालिका अन्तर्गतको कन्याम चिया कमान, माई नगरपालिका अन्तरगतको चिलिमकोट चिया कमान, झापाको बाह्रदर्शी गाउँपालिका अन्तरगतको बाह्रदर्शी चिया कमान पनि केही दिन भित्रमा नै सञ्चालनमा ल्याउने नेपाल चिया विकास निगमले जानकारी दिएको छ ।

सम्बन्धित चिया बगान र कारखाना सञ्चालनका लागि सबै स्थानीय तहले अनुमति दिएको बताइएको छ । २०५७ सालमा निजीकरण भएको नेपाल चिया विकास निगमअन्तर्गतका चिया कमानमा ४३५ जना स्थायी मजदुर कार्यरत छन् । अन्य मौसमी मजदुर रहेको चिया विकास निगमले जनाएको छ ।

नेपाल चिया विकास निगमले चिया टिप्ने र फाँड्ने काम सुरु गरे पनि पूर्वका अन्य बगान भने सञ्चालनमा आउन सकेका छैनन् । फस्ट फ्लस चिया बगानमा नै हुर्केकाले किसानको वर्ष भरिको मेहनत खेर गएको छ भने ठूला बगान सञ्चालकलाई करोडौँ रुपैयाँ नोक्सान भएको छ ।

पूर्वी जिल्ला झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा सञ्चालित चिया बगान र कारखानाबाट बार्षिक २५देखि ३० लाख केजी फस्ट फ्लस चिया उत्पादन हुन्छ । तराईका जिल्लामा मात्र २० लाख किलो फस्ट फ्लस चिया उत्पादन हुने चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताउनुभयो । फस्ट फ्लसमा कुल उत्पादनको १५ प्रतिशत चिया उत्पादन हुने चिया उत्पादन हुने मित्तल बताउनुहुन्छ । चिया बगान बन्द हुदाँ चिया क्षेत्रमा प्रत्यक्ष रुपमा आबद्ध ५० हजार मजदुर मारमा परेका छन् भने १ सय ५० बढी चिया उद्योग बन्द छन् ।

नेपालमा १० हजार भन्दा बढी चिया किसान रहेका छन् । कारोबार दैनिकबाट

 

Facebook Comments