Fri. May 3rd, 2024

स्वास्थ्य सामग्री लिन ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज

काठमाडौं, २०७७ बैशाक ४ गते बिहीबार

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् ।

ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेको हो ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन् । दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ ।

दुवै जहाज शुक्रबार काठमाडौँ फर्कने निगमले जनाएको छ ।

निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

लकडाउनको अवधिमा निगमका अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तरराष्ट्रिय उडान भरेको छ ।

यीमध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान हुन् ।

वाइडबडी ए-३३० दुई र न्यारोबडी ए-३२० दुई थान जहाजबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments