Sun. May 5th, 2024

एक मधेश एक प्रदेश हुन सक्दैन-काँग्रेस उपसभापति गच्छदार

ललितपुर, २०७६ कार्तिक ९ गते शनिवार

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताउनुभएको छ । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काँग्रैसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।” आफू अहिले सत्तामा नरहेको बताउँदै उहाँले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताउनुभयो । गच्छदारले भन्नुभयो, “पार्टीमा रहेर महङ्गी र भ्रष्टाचार लगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु ।” गत चुनावमा पार्टीले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार गच्छदारले युवा पुस्ताले पुराना व्यक्तिको कदर गर्दै उहाँहरुको योगदानलाई विर्सनु नहुने बताउनुभयो । देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छेदारको भनाइ थियो । गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गर्नुभयो ।

ललितपुर काँग्रेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले देशमा मनाइने चाडपर्वले सबै देशबासीको कामना पूरा गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त नगरपालिकाका उपप्रमुख मुना अधिकारीले नेपाली काँग्रेसको जागरण अभियानले मुलुकमा ऊर्जा भरेको दावी गर्नुभयो ।

Facebook Comments