Sat. Apr 27th, 2024

धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै

- लक्ष्मी पूजा

आइतबार साँझ लक्ष्मी पूजाका दिन जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा गरिएको दीप प्रज्वलन । युवाहरूको एक समूहले जानकी मन्दिरमा आइतबार ५१ हजार दीप प्रज्वलन गरेको हो । तस्बिर: अजयकुमार साह / रासस

रमेश हतुवाली/काठमाण्डू, २०८० कात्तिक २६ गते आईतबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिँदैछ ।

लक्ष्मीपूजालाई भव्य र उल्लासमय बनाउन काठमाण्डू उपत्यका लगायत देशैंभर दिपावली गरिएको छ । घर, आँगन, चोक, सडक, गल्ली जताततै रंगीविरंगी बत्तिहरुले उत्साहको सञ्चार गरिरहेका दृश्यहरु यत्तिवेला यत्रतत्र देख्न सकिन्छ ।

आइतबार साँझ लक्ष्मी पूजाका दिन ड्रोन क्यामराबाट खिच्दा देखिएको घोराही बजारको झिलिमिली । तस्बिर ः कुलदीप न्यौपाने / रासस

फूलैफूलको चाडका रुपमा समेत परिचित तिहारमा सयपत्री, मखमली र गोदावरी फूलका मालाहरुले घरको मुलदैलो र झ्यालहरु सजाईएको छ । लक्ष्मी पूजा यमपञ्चकको तेस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण दोस्रो दिन परेको नेपालपञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काठमाण्डू उपत्यकाभित्र रहेका मुख्य शहरहरु काठमाडौं, पाटन र भक्तपुरका अधिकांश चोक र बजारहरुमा आज विहानैदेखि सयपत्री, मखमली, गोदावरी लगायतका फूल र स्याउ, सुन्तोला, केरा लगायतका फलफूल किन्ने र बेच्नेहरुको चहलपहल देखिन्थ्यो । त्यसैगरी देशैभरका विजुली पसलहरुमा रंगीचंगी विजुलीका वत्तिहरु किन्नेहरुको लर्को लागेको थियो ।

तिहार लागेसँगै उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा आजदेखि थोरै मात्र यात्रुहरुले यात्रा गरेका दृश्यहरु पनि देख्न सकिन्छ । काठमाडौंमा घर नहुनेहरु अधिकांश तिहारसम्मै गाउँमै बस्ने र दशैंपछि फर्किएकाहरु पनि तिहार मान्न काठमाण्डू उपत्यका बाहिर जाने हुनाले यात्रुहरुको संख्या घटेको यातायात सञ्चालकहरुले बताएका छन् ।

आजका दिन बिहान सबेरै घर, आँगन, चौकमा गाईको गोबर र रातो माटोले लिपपोतगरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीलाई मखमली, सयपत्री, गोदावरी फूलका मालाले सृङ्गार गरी साँझ दीपावली गरिन्छ । लक्ष्मीपूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । त्यसैगरी आज बेलुका दिदीबहिनीहरुले समूह समूह बनाई भैलो समेत खेल्ने चलन रहेको छ ।

Facebook Comments