Thu. May 9th, 2024

आज गाई तिहार, गाईको पूजाआराधना गरिँदै

- तिहार

भिओके समाचार/काठमाण्डू, २०८० कात्तिक २७ गते सोमबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज गाईको पूजा गरी गाई तिहार पर्व मनाईँदैछ ।

कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा आराधना गर्ने परम्परा रहेको छ । आज विधिपूर्वक गाईको पूजाआराधना गरी मीठा मीठा खानेकुरा खानदिने परम्परा छ। औँसीका दिन बिहान गाई पूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भएपनि तिथिको घटबढका कारण यस वर्ष हिजो आइतबार देवी लक्ष्मीको पूजा आराधना गरिएको छ । हिजो आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मी पूजा गरिएकोहो ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्तहुने धार्मिक विश्वास छ ।वनजंगलका औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ।

गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ । देवकार्य वा पितृकार्य गर्दा गोदान नगरी शुद्ध भएको मानिँदैन । कृषि कर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिन्छ। लौकिक परम्परामा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र(डोरो) गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि वैतरणी नदी पार गर्न सहज हुने लोक विश्वास छ ।

Facebook Comments