Sat. Apr 27th, 2024

लक्ष्मी पूजाको तयारी पूरा, आज साँझ घरघरमा दीपावली गरिने

रमेश हतुवाली/काठमाण्डू, २०८० कात्तिक २६ गते आईतबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत यमपञ्चकको दोस्रो दिन आज साँझ धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधनाका लागि चाहिने आवश्यक सामग्रीको जोहो र साजसज्जाका सम्पूर्ण कार्य पुरा भएका छन् ।

लक्ष्मी पूजा यमपञ्चकको तेस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण दोस्रो दिन परेको नेपालपञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मुख्य शहरहरु काठमाडौं, पाटन र भक्तपुरका अधिकांश चोक र बजारहरुमा यत्तिवेला पनि सयपत्री, मखमली, गोदावरी लगायतका फूल र स्याउ, सुन्तोला, केरा लगायतका फलफूल किन्ने र बेच्नेहरुको चहलपहल देखिन्छ । त्यसैगरी देशैभरका विजुली पसलहरुमा रंगीचंगी विजुलीका वत्तिहरु किन्नेहरुको लर्को लागेको छ ।

तिहार लागेसँगै उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा आजदेखि थोरै मात्र यात्रुहरुले यात्रा गरेका दृश्यहरु पनि देख्न सकिन्छ । काठमाडौंमा घर नहुनेहरु अधिकांश तिहारसम्मै गाउँमै बस्ने र दशैंपछि फर्किएकाहरु पनि तिहार मान्न काठमाडौं उपत्यका बाहिर जाने हुनाले यात्रुहरुको संख्या घटेको यातायात सञ्चालकहरुले बताएका छन् ।

आजका दिन बिहान सबेरै घर, आँगन, चौकमा गाईको गोबर र रातो माटोले लिपपोतगरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीलाई मखमली, सयपत्री, गोदावरी फूलकामालाले सृङ्गार गरी साँझ दीपावली गरिन्छ । लक्ष्मीपूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाकालागिआज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मीआउने बाटो बनाउने गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । त्यसैगरी आज बेलुका दिदीबहिनीहरुले समूह समूह बनाई भैलो समेत खेल्ने चलन रहेको छ ।

लक्ष्मी पूजासँगै सार्वजनिक बिदा सुरु हुने भएपनि यस वर्ष कात्तिक २५ गते शनिबारदेखि कात्तिक ३० गते बिहीबारसम्मलाई वीदा दिईएको छ ।

Facebook Comments