Sat. Apr 27th, 2024

आज कुकुर तिहार र लक्ष्मी पूजा

- कुकुर तिहार र लक्ष्मी पूजा

रमेश हतुवाली/काठमाण्डू, २०८० कात्तिक २६ गते आईतबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तरगत आज दोस्रो दिन देशैभर कुकुर तिहार मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको छ ।

यमपञ्चकभरी भगवान् विष्णुको वरदान पाएर बलि राजाले तीनै लोकमा शासन गर्ने हुनाले यस अवधिभर यमराजका साथै यमदूत र सहायक अनुचरले समेत पूजा र सम्मान पाउने धार्मिक तथा पौराणिक मान्यता अनुसार आज यमराजको द्वारपाल मानिएको कुकुरलाई पूजा गर्ने र मीठा मीठा खानेकुरा खुवाउने गरिन्छ ।मानव सम्यताको सुरुवातदेखि नै कुकुर मानिस र मानिसले पालेका पशुपक्षीको सुरक्षाको पहरेदार भएको हुनाले पनि मानव सम्यतामा कुकुरको विशिष्ठ स्थान रहँदै आएको छ । मालिकप्रति इमान्दार रहने कुकुरलाई विज्ञानले पनि तृष्ण बुद्धिको प्राणी भनेर प्रमाणित गरेको छ । अपराध अनुसन्धानमा पनि कुकुरको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले आजका दिन विभिन्न सुरक्षा निकायहरुमा पनि कुकुरलाई सयपत्री, मखमली, गोदावरी लगायतका फूलहरुको माला लगाईदिएर पूजाआराधना गरी मीठा मीठा परिकारहरु खान दिने गरिन्छ ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तरगत आज कुकुर तिहार, आजै साँझ घर घरमा दीपावली गरी धनधान्यकी देवी लक्ष्मीको पनि पूजाआराधना गरिने ।

कुकुर तिहारलाई नरक चतुर्दशीपनि भनिन्छ । पौराणिक मान्यता अनुसार मृत्युको अन्धकारमा जीवात्माले बाटो बिराएर भट्किनु नपरोस् भन्ने हेतुले दिवङ्गत व्यक्तिका नाममा नदी, खोला, धारा वा नजिकको जलाशयमा सालको पातको टपरीमा दीपमालिका सजाएर तेल र जलले स्नान गरी दीपप्रवाह गर्ने चलन अनुसार आज बिहान तारा नअस्ताउँदै जलमा दीप प्रवाह गर्ने कार्य सम्पन्न भएको छ ।

यमपञ्चकअन्तर्गत आजै साँझ घरघरमा विभिन्न किसिमका रंगीचंगी बत्तिहरु बालेर धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरिँदैछ ।लक्ष्मी पूजा यमपञ्चकको तेस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण दोस्रो दिन परेको नेपालपञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आजका दिन बिहान सबेरै घर, आँगन, चौकमा गाईको गोबर र रातो माटोले लिपपोतगरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीलाई मखमली, सयपत्री, गोदावरी फूलकामालाले सृङ्गार गरी साँझ दीपावली गरिन्छ । लक्ष्मीपूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाकालागिआज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मीआउने बाटो बनाउने गरिन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । त्यसैगरी आज बेलुका दिदीबहिनीहरुले समूह समूह बनाई भैलो समेत खेल्ने चलन रहेको छ ।

लक्ष्मी पूजासँगै सार्वजनिक बिदा सुरु हुने भएपनि यस वर्ष कात्तिक २५ गते शनिबारदेखि कात्तिक ३० गते बिहीबारसम्मलाई वीदा दिईएको छ ।

Facebook Comments