Fri. May 10th, 2024

अमेरिकामा ९ जना सम्पादक सम्मानित

न्युयोर्क, अमेरिका, २०८० भदौ ११ गते सोमबार । अमेरिकामा रहेर नेपाली पत्रकारितामा संलग्न ९ जना सम्पादकहरूलाई सम्मान गरिएको छ ।

न्युयोर्कमा नेपाली सामुदायिक मिडियाका ९ प्रधानसम्पादकहरुलाई तारा किशन फाउण्डेशनले शनिबार उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा नेपालयका प्रधान सम्पादक विष्णुप्रसाद पौडेल, टिभी सन्डेका किरण मरहट्टा, टुटुल्कोका ज्योतिकुमार श्रेष्ठ, रुपान्तरणका अकुर लुइँटेल, खसोखासका किशोर पन्थी, नेपालिजमका प्रदीप परियार थापा, विश्व सन्देशका योगेश आदि, मकै हाउसका खडग पुलामी र विश्व परिक्रमाका गोविन्द गिरी प्रेरणा रहनुभएको छ । अमेरिकामा औपचारिक दर्ता भई संचालित संचारमाध्यमका संचालक र प्रधान सम्पादकहरुलाई भाषा साहित्यमा दिएको योगदानका लागि सम्मान गरिएको आयोजकले बताए ।

नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्य र तारा किशन फाउण्डेशनकी अध्यक्ष तारा धामीको अध्यक्षतामा भएको कार्यक्रममा देउडा गायक शंकरसिंह विष्ट र गायिका चाँदनी विष्टलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा २१ जना संचारकर्मीहरुलाई सम्मान गर्ने कार्यक्रम रहे पनि न्युयोर्क क्षेत्र बाहिरका प्राय: संचारकर्मीहरु भने कार्यक्रममा उपस्थित हुन नसकेका कार्यक्रममा जानकारी गराइएको थियो ।

नेपाली समुदायमा सकृय संचारमाध्यम र संचारकर्मीहरुले नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको र उक्त योगदानको कदरस्वरुप सम्मान कार्यक्रम गरिएको तारा किशन फाउण्डेशनका प्रमुख सल्लाहकार किशन सिंह धामीले बताउनु भयो । सम्मानित हुने संचारकर्मीहरुका तर्फबाट बोल्दै विश्व परिक्रमाका गोविन्द गिरी प्रेरणा, खसोखासका किशोर पन्थी र टुटुल्कोका ज्योतिकुमार श्रेष्ठले यो सम्मानले थप जिम्मेबारीबोध गराएको धारणाा राख्नुभयो । कार्यक्रमको संचालन साहित्यकार शकुन ज्ञवालीले गर्नुभएको थियो ।

Facebook Comments