Fri. May 10th, 2024

दुर्गाप्रसाद श्रेष्ठलाई नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं, २०७६ फागुण २७ गते मंगलबार

नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाख रूपियाँ राशि सहित ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ ।

सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत प्रतिष्ठित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

१९९३ सालदेखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको बनारसबाट ‘उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो । सोही पत्रिकामा प्रा.डा.ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए । काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसाद श्रेष्ठबाट नै चार दशकअघिदेखि उदय पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ ।

दुर्गाप्रसाद श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ‘आमा’को पटकथा र सम्वाद लेख्नु भएको थियो । हिरासिंह खत्रीद्वारा निर्देशित आमाको उहाँ सहायक निर्देशक पनि हुनुहुन्थ्यो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी व‌ैशाख २९ गते काठमाडौंमा ९ जना बालबालिका समेत २६ जना महानुभावलाई १४ लाख रूपयाँ र ताम्रपत्र सहित नइ पुरस्कारहरु समर्पण गरिने नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो ।

Facebook Comments