Mon. May 6th, 2024

चीनबाट औषधि बन्ने कच्चा प्रदार्थ आउन थालेकाले अभाव हुँदैन

काठमाडौं, २०७६ फागुण २७ गते मंगलबार

औषधि बन्ने कच्चा प्रदार्थ चीनबाट आउन थालेकाले औषधिको अभाव नहुने व्यबसायीहरूले बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार आयोजना गरेको कोरोना भाइरसको सन्दर्भमा आपूर्ति व्यवस्थापनमा विद्यमान स्थितिबारे अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष शंकर घिमिरेले अहिले औषधि बन्ने कच्चा प्रदार्थ चीनबाट आउन थालेको जानकारी दिंदै औषधिको अभाव नभएको र आगामी दिनमा पनि नहुने विश्वास व्यक्त गर्नुभयो ।

 त्यस्तै साे कार्यक्रममा विभिन्न सरोकारवाला निकायले अनावश्यक सामान खरिद गरी नराख्न उपभोक्तालाई आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले अनावश्यक धेरै सामान खरिद नगर्न आग्रह गर्नुभयो ।

आफूहरुले बजार निरीक्षणको क्रममा एउटै व्यक्तिले खाना पकाउने ग्यासका सिलिण्डर १५ वटा खरिद गरेर राखेको फेला पारेको उहाँले बताउनुभयो ।

साथै, औषधि पनि अभाव हुन्छ भन्ने हल्लाले अनावश्यक खरिद गरेर राखेको जानकारी दिंदै यसो नगर्न उपभोक्तालाई उहाँले आग्रह गर्नुभयो ।
सरकार दैनिक उपभोग्य सामान अभाव हुन नदिन सरकार युद्वस्तरमा लागि परेकाले ढुक्क हुन पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोनाको संक्रमण नेपालमा पस्न नदिन सरकार गम्भिरतापूर्वक लागिरहेको बताउनुभयो ।
बाहिरी मुलुकबाट आउने नागरिकलाई विशेष निगरानी राखेर चेकजाँच प्रभावकारी रुपमा भईरहेको कोइरालाले बताउनुभयो ।
कोरोनाको संक्रमणबाट बच्नको लागि पूर्वतयारी अनुरुप स्थानीय निकाय, प्रदेशस्तर र केन्द्रस्तरमा सहजताको लागि कमिटी नै गठन गरेर काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

विदेशी मुलुकमा आफूसँग भएको सामान नभएको मानिसलाई दिएर सहयोग गर्न चलन भए पनि नेपालमा भने आफैं मात्रै थुपार्ने प्रवृत्तिका कारण समस्या पैदा हुने खतरा रहेको बताउनुभयो ।

नेपालमा आवश्यक पर्ने औषधि रहेकाले अनावश्यक हल्लाको पछि नलाग्न पनि उहाँले अनुरोध गर्नुभयो । औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले औषधिको मूल्यवृद्वि र कालोबजारी नभएको दावी गर्नुभयो । कुनै औषधि पसलले औषधिमा भएको एमआरपी दर भन्दा बढी मूल्यमा बेचेको पाईए आफूहरु र सरकारलाई खवर गर्न आग्रह गर्नुभयो ।
बजारमा औषधिको अभाव नभएको समेत श्रेष्ठले दाबी गर्नुभयाे ।

भारत र नेपालको नाकामा केही औषधि रोकिएर बसेको जानकारी दिंदै त्यो सामानलाई ल्याउन सरकारले सहजीकरण गरिदिन समेत उहाँले आग्रह गर्नुभयो ।
ग्यास उत्पादक संघका गोकुल भण्डारीले उपभोक्ताले अनावश्यक ग्यास खरिद गरेर राखेको जानकारी दिनुभयो ।
अहिले आफूहरुसँग उपभोक्तालाई चाहिने आवश्यक पर्ने ग्यास भएकाले अनावश्यक धेरै ग्यासका सिलिण्डर नराख्न भण्डारीले आग्रह गर्नुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, उर्मिला श्रेष्ठले कर्पोरेशनसँग एक वर्षलाई पुग्ने नुन मौज्दात रहेको जानकारी दिनुभयो ।
सामान बाहिरबाट आउनेक्रम जारी रहेकाले उपभोग्य सामानको अभाव नहुने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल चामल उद्योग संघका अध्यक्ष अजय पराजुलीले आफूहरुले चामलको मूल्य नबढाएको जानकारी दिनुभयो । आफूहरुसँग ५ महिनालाई पुग्ने चामल मौज्दात रहेको उहाँले बताउनुभयो ।

नेपाल वितरण संघका अध्यक्ष राजेन्द्र सिंम्खडाले आफूहरुसँग भएको सामानमा मूल्यवृद्वि र कालोबजारी नभएको दावी गर्नुभयो । नेपाल खाद्य किराना पसलका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले अनावश्यक सामान किनेर धेरै प्रयोग नगर्न आग्रह गर्नुभयो । बजारमा सामान अभाव नभए पनि धेरै खरिद गरेर राख्दा सबै हल्लाको पछि लागे समस्या पैदा हुने बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments