Thu. May 2nd, 2024

हल्लाको पछि नलागाैं, चार महिनालाई पुग्ने औषधि मौज्दात छ

काठमाडौं, २०७६ फागुण २२ गते बिहीबार

बजारमा औषधि अभावको हल्ला चलिरहेको बेला औषधि सम्बन्धी काम गरिरहेका व्यवसायीले हल्लाको पछि नलाग्न आग्रह गरेको छन् ।

नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्यले आफूहरु सँग चार महिनालाई पुग्ने औषधि मौज्दात रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमा औषधिको अभाव भन्ने खबरले जनतालाई भ्रम सृजना समेत गरेको उहाँले बताउनुभयो । नेपालका तीन करोड जनतालाई पुग्ने औषधि व्यवसायीहरु सँग रहेको जानकारी दिदै हल्लाको पछि लागेर अनावश्यक औषधि खरिद गरेर नराख्न सर्वसाधारणलाई महासचिव आचार्यले आग्रह गर्नुभयो ।

हिजो मात्रै एक व्यवसायीले बंगलादेशबाट दुई करोड प्यारा सिटामोल नेपाल ल्याउन सुरु गर्नुभएको समेत महासचिव आचार्यले जानकारी दिनुभयो । बिभिन्न मुलुकहरुबाट व्यवसायीहरुले आयात गरिरहेको र बजारमा औषधि स्टक रहेकोले औषधिको बारेमा अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उहाँले सपष्ट पार्नुभयो ।

यता औषधि उत्पादन गर्दै आएको नेपाल औषधि उत्पादक संघले नेपालमा ७० देखि ८० प्रकारका औषधि आफूहरु उत्पादन गर्न सक्षम भएको बताएको छ । नेपालमा धेरै औषधि यही उत्पादन हुने भएकोले औषधि अभाव हुन नदिन व्यवसायीहरु छलफलमा लागि रहेको नेपाल औषधि उत्पादक संघका महासचिव बिप्लब अधिकारीले जानकारी दिनुभयो ।

भारत र चीनबाट औषधि आउन रोकिहाले पनि बंगलादेश लगायत अन्य देशबाट कच्चा प्रदार्थ ल्याएर औषधि बनाउन सकिने उहाँले जानकारी दिनुभयो । सरकारले कच्चा प्रदार्थ ल्याउन सहजीकरण र सहुलियत गरे स्वदेशी औषधि कम्पनीहरू उत्पादन गर्न सक्षम भएकोले आत्तिहाल्ने अवस्था नरहेको अधिकारी बताउनुहुन्छ ।

यसै गरी औषधि आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड भारत प्रस्थान गर्नुभएको छ । नेपालमा औषधि अभाव हुन नदिन भारत सरकार सँग कुरा गर्न आजै भारत प्रस्थान गर्न लागेको र आफू विमानस्थल पुगेको राज्यमन्त्री दुगडले गोरखापत्र अनलाईनलाई जानकारी दिनुभयो ।

भारतले नेपालमा चाहिने अत्यावश्यक औषधिको लिष्ट मागेको जानकारी दिदै यस बिषयमा पनि भारतीय अधिकारीहरूसँग छलफल हुने उहाँले जानकारी दिनुभयो ।
भारतले कोरोनाको प्रकोपका कारण विदेश निर्यात हुने औषधिमा रोक लगाउने भए पछि नेपालमा औषधिको अभाव हुने आशंका देखिएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments