Fri. Apr 19th, 2024

धमाधम बुकिङ रद्द, कोरोनाको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा देखिन थाल्यो

काठमाडौं, २०७६ फागुण २२ गते बिहीबार

गत बर्षको तुलनामा फेब्रुअरी महिनामा आउने पर्यटकको संख्या एक प्रतिशतले मात्रै घटे पनि मार्च महिनामा भने कोरोनाको त्रासले अधिकाशं होटलहरुमा बुकिङ क्यान्सिल हुन थाले पछि व्यसायीहरू अर्को त्रास थपिएको छ ।

यो सिजनमा देशभर करीब चार लाख पर्यटक हुने अनुमान गरिएको थियो तर अहिले अब पर्यटन व्यबसायीले सञ्चालन खर्च पनि धान्न मुश्किल पर्ने अबस्था छ ।
पर्यटन उद्योगमा संकट आउन सक्न ‘भूकम्पको भन्दा पीडा हाम्रो व्यवसायले अब खेप्नु पर्दैन जस्तो लागेको थियो, त्यो भन्दा भयाभह अवस्थाको कोरोनाले गरायो ’टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का सचिव दामोदर ढकाल भन्नुहुन्छ ।

त्यो बेला दातृ निकाय र पूरै विश्व मिलेर हाम्रो पीडामा मलम लगाए पनि अहिले विश्वनै यसबाट पीडित बनेकाले ज्यादा समस्या भोग्नु परेको ढकालले सु्नाउनुभयो ।
‘ठूला होटलहरुमा भटाभट पर्यटकहरुले बुकिङ क्यान्सिल गर्न थाले पछि एकातिर कोरोनाको त्रास अर्काे तर्फ व्यवसायनै चौपट हुने अवस्थाले हामी त्रसित बन्न पुगेको छौं ’ उहाँले थप्नुभयो पूरै विश्व नै त्रसित बनेको समयमा नेपाल जस्तो देशका हामी साना लगानीकर्तालाई झनै पीडा हुने रहेछ ।’

नेपालमा दुई सयको हाराहारीमा साना टे«किङ व्यवसायी छन् भने ३० भन्दा धेरै ठूला व्यवसायीहरु छन् । यो सिजनमा नेपाल भरमा उनीहरुले चार लाख पर्यटकको खाने र बस्ने बन्दोबस्ती मिलाउने गर्दथे तर अहिले पर्यटकहरुले भटाभट बुकिङ क्यान्सिल गर्न थालेसँगै व्यवसायीहरुमा चिन्ता थपिएको छ ।
यो व्यवसायमा आबद्ध एक लाखभन्दा धेरै श्रमिकहरुको समेत रोजिरोटी खोसिने अवस्थामा पुगेको उहाँहरुको बुझाई छ ।

‘भूकम्पले नेपाललाई मात्रै आक्रान्त पारेको थियो, कोरोनाले विश्व बजारलाई नै, हाम्रो व्यवसाय भूकम्प गएको समयमा भन्दा आक्रान्त छ’ ढकालले भन्नुभयो । हाम्रो देशमा पर्यटकहरु धेरै चीन र भारतबाट आउने भएकाले त्यतानै समस्या भएपछि पर्यटन व्यवसायनै संकटमा पारेको ढकालले बताउनुभयो । अक्टोबरसम्ममा नेपालमा पाँच लाखभन्दा धेरै पर्यटन आउने भएप नि विश्वमै कोरोनाको त्रासपछि पर्यटक आउने संख्यामा ह्वात्तै कमी भएको पर्यटन व्यवसायीहरु सुनाउनुहुन्छ ।
‘हामीले यही अवस्थाबाट गुज्रने हो भने हाम्रो अर्बाैंको लगानी जोखिमममा पर्ने निश्चित छ’ ढकालले भन्नुभयो ।

अहिले होली मनाउन मात्रै नेपालमा चार लाखभन्दा धेरै पर्यटक आउनु हुन्थ्यो । भारत र युरोपबाट युवा होलीमा रमाइलो गर्न नेपाल आउने गरेकोमा कोरोनाकै कारण त्यो रोकिएको उहाँले बताउनुभयो ।

काठमाडौमा मात्रै हैन पोखरा, सौराहा, बर्दिया,लुम्बिनीमा होली मनाउने गरिएकोमा यो बर्ष त्यो संम्भावनानै नभएको उहाँले बताउनुभयो । पर्यटन उद्योग उठ्ननै नसक्ने अवस्थामा पुग्न थालेको र सरकारसँग सहयोग माग्नु पर्ने अवस्थामा पुगेको ढकाल बताउनुहुन्छ ।

होटल एशोसिएसन अफ नेपाल(हान) चिफ अपरेटिङ अटेक महतले होटलको क्षेत्रमा संकटकाल घोषणा गर्ने समय आउन थालेको बताउनुभयो । फेब्रुअरीमा त्यस्तो पर्यटक घटेको देखिदैन तर आगामी सिजनका लागि आउने पर्यटकहरुले बुकिङनै क्यान्सिल गर्न थालेपछि समस्या भयावह बन्दै गएको बताउनुहुन्छ ।

हामीले सरकारलाई कोरोनासँग लड्न सहयोग गर्नु् पर्ने समयमा उल्टै सहयोग माग्ने अवस्था सिर्जना भएको महतले बताउनुभयो । कोरोनाको हल्लासँगै राजधानी र मोफसलका होटलहरुमा गरिएका बुकिङ क्यान्सिल हुन थालेसँगै संचालन खर्च समेत गर्न धौधौ हुन थालेको महतले बताउनुभयो ।

होटल उद्योगहरुमा यसले दीर्घकालीन असर पार्ने महतको ठम्याई छ । यसमा अर्बौं लगानी भएको छ, काठमाडौं तथा पर्यटकीय क्षेत्रका ठूला होटल यसको उच्च जोखिममा छन्’ महतले भन्नुभयो ।

‘ठूला होटलमा कर्मचारीको संख्या धेरै छ , व्याज धेरै तिर्नुपर्छ, तीसांै बर्षदेखि काम गरिरहनु भएका कर्मचारी हुनुहुन्छ, पर्यटक आउँदै नआएपछि उहाँहरुलाई निरन्तरता दिन समेत अप्ठारो परेको छ’ उहाँले भन्नुभयो ।

त्यस्ता होटलहरु काठमाडौैं उपत्यकामा तीन सय र काठमाडौ बाहिरको नगरकोट, धुलिखेल, सौराहा, बर्दिया, पोखरा, लुम्बिनी लगायतका ठूला शहरहरुमा समेत रहेकाले पुरै नेपालका होटलहरुमा समस्या सृजना देखिएको महतले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ । भ्रमण बर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएर अघि बढेको सँस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयसँग समेत पर्यटन बोर्डले सहकार्य गरेर पर्यटन उद्योगलाई धरासयी हुनबाट जोगाउने प्रयास थालेको बोर्डका प्रवक्ता मणीराज लामिछानेले बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments