सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु
धरान (सुनसरी) । सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले इटहरीमा आयोजित कार्यक्रममा ३०० जना सिटी सफारी चालकलाई उक्त पोसाक वितरण गर्नुभयो । पछिल्ला वर्षहरूमा इटहरी, धरान, विराटनगरलगायत पूर्वका प्रमुख सहरमा ई–रिक्सा (सिटी सफारी) को सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । तर, दर्ता, रुट निर्धारण तथा सञ्चालनसम्बन्धी स्पष्ट कानुनी र नीतिगत व्यवस्था नहुँदा यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
प्रहरीका अनुसार चालकको पहिचान सुनिश्चित गर्ने, यात्रुमा विश्वास अभिवृद्धि गर्ने तथा दुर्घटना र आपराधिक गतिविधिको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा सिटी सफारीसँग सम्बन्धित दुई हजार ७३२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ भने तीन हजार ९७० जना घाइते भएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा २२, २०७९/८० मा २४, २०८०/८१ मा ३६ तथा २०८१/८२ मा १५ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म थप १९ जनाले ज्यान गुमाइसकेका छन् । घाइतेको सङ्ख्या पनि उच्च रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६६८, २०७९/८० मा ७६२, २०८०/८१ मा ५९४ तथा २०८१/८२ मा ७५१ जना घाइते भएका थिए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक हजार १९५ जना घाइते भएका छन् ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४५३, २०७९/८० मा ५५२, २०८०/८१ मा ४४६ तथा २०८१/८२ मा ५८१ वटा दुर्घटना भएका थिए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ७०० दुर्घटना भइसकेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक घिमिरेले बढ्दो सवारी चापसँगै ट्राफिक अनुशासन र सडक सुरक्षाको महत्व अझ बढ्दै गएको बताउनुभयो । सुरक्षित चालक नै सुरक्षित यात्राको आधार भएको उल्लेख गर्दै उहाँले ट्राफिक नियमको पूर्ण पालना गर्न तथा जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न चालकलाई आग्रह गर्नुभयो ।
उहाँले क्युआर कोडसहितको चालक पोसाकले चालकको पहिचान स्पष्ट बनाउन सहयोग पुग्ने र यात्रुलाई सुरक्षित यात्राको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभयो । प्रहरीका अनुसार मोरङबाट सुरुआत गरिएको यो अभियान क्रमशः कोशी प्रदेशका अन्य जिल्लामा विस्तार गरिनेछ । रासस

