Sat. May 4th, 2024

दिल्लीबाट ट्रम्पले भने : कश्मीरबारे भारत–पाकिस्तान मध्यस्थता गर्न तयार छु

नयाँदिल्ली, २०७६ फागुण १३ गते मंगलबार

 भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कश्मीर मुद्दाबारे भारत र पाकिस्तानको मध्यस्थता गर्न चाहेको बताए ।

ट्रम्पले नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । यसअघि पनि उनले भारत र पाकिस्तानलाई मध्यस्थता गराउन तयार रहेको बताएका थिए ।
पाकिस्तानमा आतंकवादबारे पत्रकारले गरेको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले यस्तो बताएका हुन् ।

‘हामीले यसबारे आज धेरै कुरा गर्यौँ । यो कुनै समस्या हैन । उनीहरु यसमा काम गर्दैछन् । मैले भनेँ कि, म सहयोगका लागि सकेसम्म गर्नेछु । किन कि, दुबै प्रधानमन्त्री इमरान खान र नरेन्द्र मोदीसँग मेरो सम्बन्ध ज्यादै राम्रो छ । मध्यस्थताका लागि म सकेजति गर्नेछु,’ ट्रम्पले भने ।

कश्मीर भारत र पाकिस्तानको बीचमा समस्या भएको पनि ट्रम्पले बताएका थिए । उनले थपे, ‘अवस्य पनि, कश्मीर भारत र पाकिस्तानका बीच ठूलो समस्या हो । उनीहरु आफ्नो समस्या समाधान गर्न खोजिरहेका छन् ।’

ट्रम्पलाई भारतमा नागरिकता कानुनलाई लिएर भएको विरोधबारे पनि प्रश्न सोधिएको थियो । तर उनले यसबारे आफूले कुनै प्रतिक्रिया दिन नचाहेको बताए । साथै यो विषय भारतकै भएको उनको भनाइ थियो । भारतको नयाँदिल्लीमा तीन दिनदेखि हिंसात्मक विरोध प्रदर्शन भइरहेको छ । जहाँ सातजनाको मृत्यु हुनुका साथै एक सय ४० भन्दा धेरै घाइते छन् । अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments