Fri. May 3rd, 2024

अमेरिकी राष्ट्रपति ट्रम्प भारत दौडाहामा, भारत-अमेरिकी गठबन्धनलाई विश्वमै पुनर्जीवित गर्ने घोषणा

काठमाडौं, २०७६ फागुण १२ गते सोमबार

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिका कट्टरपन्थी इस्लामिक आतंकवादबाट आफ्नो देशको जनतालाई रक्षा गर्न प्रतिबद्ध रहेको टिप्पणी गर्नुभएको छ । उहाँले भारतसँगको रक्षा सम्बन्ध महत्वपूर्णरुपमा बिस्तार भइरहेको बताउनुभयो ।

दुई दिने भ्रमणको क्रममा सोमबार भारत आउनुभएका ट्रम्पले अहमदाबादस्थित मोटेरा रङ्गशालामा आयोजित ‘नमस्ते ट्रम्प’समारोहलाई सम्बोधन गर्नुहुँदै यस्तो धारणा राख्नुभएको हो । उहाँले भारतसँगको ब्यापार सम्झौता शानदार रुपले अगाडि बढिरहेको बताउनुभयो । उहाँले व्यक्तिगत् स्वतन्त्रतालाई अँगाल्दै आएको भारत कानूनी शासन, मानवीय गरिमाको उच्च कदर सँगसँगै त्यसप्रित भक्तिभाव देखाउने परम्पराको प्रशंसा गर्नुभयो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पको यो पहिलो भारत भ्रमण हो । यसअघि उहाँ सन् २०१४ मा भारत भ्रमण गर्नुभएको थियो । स्वतन्त्र नागरिकको रुपमा उहाँले उक्त भ्रमण गर्नुभएको थियो । मुम्बईमा त्यत्तिबेला निर्माणाधीन ट्रम्प टावरबारे जानकारी लिन उहाँ भारत पुग्नुभएको थियो ।

यसअघि अमेरिकी राष्ट्रपतिको रुपमा बराक ओबामाले सन् २०१५ मा भारतको भ्रमण गर्नुभएको थियो । ट्रम्पलले अमेरिका भारतको वफादार मित्र रहने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्नुहुँदै उहाँले भन्नुभयो, “देश विकासका लागि दिन रात काम गर्ने उहाँ असाधारण नेता हुनुहुन्छ ।”

भारत र अमेरिका आतंकवाद र उक्त विचारधारा विरुद्ध लड्न प्रतिबद्ध रहेको राष्ट्रपति ट्रम्पले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसै कारणले आतंकवादी समूहलाई परास्त गर्न पाकिस्तानसँग आफ्नो सरकार सहकार्य गरिरहेको छ ।” ट्रम्प आफ्नो श्रीमती मेलेनिया, छोरी इभाना र ज्वाँई जरेद कुष्णेरसँगै भारत पुग्नुभएको छ ।

उहाँले मंगलबार भारतसँग दुई अर्ब अमेरिकी डलरको रक्षा सम्झौता गर्ने घोषणा गर्नुभयो । “भारत र अमेरिकाबीच प्राकृतिक र सहनशील मित्रता छ”, भन्नुहुँदै हर्षोल्लास मनाएको भिडलाई सम्बोधन गर्नुहुँदै उहाँले थप्नुभयो, “हामी छिट्टै भारत र अमेरिकी गठबन्धनलाई विश्वमै पुनर्जीवित गर्नेछौं । यसअघि ट्रम्पको भारत भ्रमणको क्रममा ब्यापारिक सम्झौता नहुने अनुमान गरिएको छ ।

ट्रम्पले बलिऊड उत्पादित चलचित्र ‘डी डी एल जे’ र ‘शोले’को सफलतासँगै खेलकूदका महान खेलाडी सचिन तेन्दुलकर र विराट कोहलीको सफलताले भारतीय सांस्कृतिक विविधताबारे आफ्नो धारणा राख्नुभयो ।

राष्ट्रपति ट्रम्प परिवारसहित सोमबार नै भारतको प्रसिद्ध शहर आगराका लागि प्रस्थान गर्नुभएको हो । आगरामा उहाँले ताजमहलको अवलोकन गर्नुहुनेछ । त्यस लगत्तै उहाँ भारतको राजधानी नयाँ दिल्लीको लागि प्रस्थान गर्नुहुनेछ ।

यसैबीच, भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेस आईले प्रधानमन्त्री मोदीको आलोचना गरेको छ । उसले आर्थिक वृद्धि दर घट्दै गएको, बेरोजगारी बढ्नुका साथै सामुदायिक सद्भाव बिग्रदै गएकोप्रति चिन्ता ब्यक्त गरेको छ । सत्तारुढ भारतीय जनता पार्टीको गलत अर्थनीतिले गत् जनवरीमा ६.९ प्रतिशत रहेको बेरोजगारी दर यसवर्ष ७.८ प्रतिशत पुगेको उसको दाबी छ ।

शाकाहारी नखाने ट्रम्प
सऊदी अरब वा सिंगापुरको भ्रमण गर्दा ट्रम्पलाई खानामा घरेलु परिकार पस्किने गरिएको छ । उहाँको सहजताका लागि उक्त परिकार पस्किदै आएको छ । भोजनमा मासुको परिकार ट्रम्पलाई मन पर्छ । भारतमा सार्वजनिक स्थलमा बिक्रि वितरण नहुने गाईको मासु मन पराउने उहाँलाई शाकाहारी खाना नै पस्किने तयारी गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले भारत भ्रमणको क्रममा ट्रम्पको भोजनबारे विशेष रुचीसहित समाचार लेखेको छ । शाकाहारी खान नरुचाउने ट्रम्पलाई राष्ट्रपति भवनमा मंगलबार दिइने रात्रीभोजमा शाकाहारी खाना नै पस्किने तयारी गरिएको छ ।

त्यसअघि उहाँले भारतीय प्रधानमन्त्रीसँग दिवा खाजा लिनुहुनेछ । मोदी नजिक रहेर खाना तयारी गरिरहेकालाई उद्धृत गर्दै सीएनएनले उहाँलाई सल्लादसहितको भोजन पस्किने तयारी गरिएको उल्लेख गरेको छ । सीएनएनले ट्रम्प नजिकका एकजनालाई उद्धृत गर्दै लेखेको छ, “सलाद खादै आएको देखेको छु, तर खानामा तरकारी उहाँ अहिलेसम्म लिनुभएको छैन् ।” गोरखापत्र अनलाईनबाट

Facebook Comments