Fri. Apr 26th, 2024

“धमिलो राजनीतिको सिकार लेखापढी व्यवसायी”: सीताराम दाहाल

काठमाडौँ, २५ माघ, २०७६ । समग्र राजनीति धमिलो भएका कारण पेशा र व्यवसायीहरुलाई प्रत्यक्ष मार परिरहेको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका अध्यक्ष सीताराम दाहालले बताउनु भएको छ । एसोसिएसनको इकाई समिति कलंकीको १४ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले राजनीति सबैभन्दा सग्लो हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ राजनीति धमिलो छ, त्यो धमिलो पानीमा माछा मार्ने प्रयत्न अहिलेको निजामती प्रशासनले गरेको छ । त्यसको सिकार लेखापढी कानून व्यवसायी भएका छौं ।’ राजनीतिमा समस्या भए पनि पेशा व्यवसाय गर्नेलाई आक्षेप लगाउने गरेको उहाँको भनाई थियो । लेखापढी व्यवसायी भ्रष्ट भएको भन्ने आरोपको खण्डन गर्दै उहाँले भन्नुभयो, ‘एउटा कार्यालय प्रमुख सरुवा गर्नु छ भने लेनदेन नभई उसको सरुवा नै हुँदैन ।’ राजनीतिमा शुद्धता आउन जरुरी रहेको उहाँले बताउनु भयो ।


कार्यक्षेत्रभित्र देखिएका समस्याहरु राज्य आफैंले निम्त्याएको उहाँको भनाई छ । राज्यले निम्त्याएको समस्या व्यवसायीले समाधान गरिदिनु पर्ने तर त्यसको बदलामा व्यवसायी विरुद्ध सरकार लागिरहेको र व्यवसायीले अपमान सहनु परेको उहाँले बताउनु भयो । ‘हामीले पेशा सञ्चालन गर्दा सेवाग्राहीलाई हितहुने गरी काम गर्यौ तर नीतिगत निर्णय गर्दा राज्यले गलत ढंगले हामीलाई बुझिदिएको कारण यो समस्या आएको हो ।समस्या यहाँ छ’ उहाँको गुनासो थियो ।

कलंकीमा स्मार्ट कार्यालय उद्घाटन गर्दा प्रधानमन्त्री जानु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनु भयो । एउटा स्मार्ट कार्यालयको उद्घाटन प्रधानमन्त्रीले नगरेर एउटा विभागीय मन्त्री वा कार्यालय प्रमुख वा सचिवले गर्नुपर्ने । तर भ्रष्टाचारले जरा गाडेको कार्यालयमा जाँदा प्रधानमन्त्रीको अपमान भएको उहाँको भनाई थियो ।

बालुवाटार काण्डमा भरखरै मात्र १७५ जनाविरुद्ध मुद्दा दायर भएको छ । तर त्यसमा एकजना पनि लेखापढी कानूनव्यवसायीहरु संलग्न नरहेको उहाँले बताउनु भयो । यसले लेखापढी व्यवसायी भ्रष्ट छैनन् भन्ने पुष्टि गरेको भन्दै अध्यक्ष दाहालले लेखापढी व्यवसायीलाई आरोप लगाउने मन्त्रीलाई नै चुनौति दिनुभयो । ‘माननीय भूमिसुधार मन्त्रीलाई कान खोलेर सुन्न आग्रह गर्दछु, ललिता निवास हिजो घोटला भएको रहेछ, आज राज्यले फर्काउन खोज्यो । त्यसमा राजनीतिक रुपमाविकृति देखियो कि देखिएन? तपाईंका राजनीति गर्ने मान्छेहरु संलग्न देखिनु भयो कि भएन?’ दाहालले भन्नुभयो ।

त्यो लिष्टमा लेखापढी व्यवसायीहरु कहाँ रहेछन् भनेर खोजेँ कहिँ नभेटेको भन्दै उहाँले भन्नुभयो, ‘त्यसैले तपाईंहरु गलत हुनुहुन्छ, हामी सही छौँ ।’उहाँले अगाडि भन्नुभयो, ‘त्यो लिखत त लेखापढी व्यवसायीले नै लेखेका थिए होला नि ! उसले कानून बमोजिम काम गर्यो त्यसैले उसको संलग्नता देखिएन । त्यसैले अहिले को भ्रष्ट रहेछ ? राजनीतिक व्यक्ति कि कर्मचारी प्रशासन?’ त्यसैले स्वतन्त्र रुपमा पेशाव्यवसाय गर्ने व्यवसायीलाई त्यसै आक्षेप नलगाउन पनि दाहालले आग्रह गर्नुभयो ।

अर्को प्रसंगमा दाहालले भन्नुभयो, ‘अहिले सुन्दैछु, भूमिसम्बन्धी ऐन २०२१ को आठौं संशोधन हुँदैछ । त्यो विधेयक पास भएर आएपछि स्थानीय तहलाई गम्भीर समस्या हुन्छ ।’ सार्वजनिक सम्पत्ति समाप्त पार्ने उद्देश्यले यो ऐन संशोधन भएर आउन लागेको उहाँको भनाई छ । १० वर्ष बसोबास गरेको सिफारिस स्थानीय तहबाट ल्यायो भने सार्वजनिक जग्गा व्यक्तिको नाममा पास हुन सक्ने प्रावधान यो ऐनमा रहेको उहाँले बताउनु भयो । यो गम्भीर विषय भएकोले सबै सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।

लेखापढी नियमावली र ऐनको विषयमा पनि आवाज उठाइरहेको उहाँले बताउनु भयो । ‘नेपाल बार र लेखापढी व्यवसायीहरु एउटै ऐनअन्तर्गत स्थापित व्यवसायीहरु हौं भनेर हामी पहल गरिरहेका छौँ’ उहाँले भन्नुभयो, लेखापढी सम्बन्धी नियमावली २०५१ को संशोधन बार काउन्सिलसम्म पुग्ने अवस्थामा छ ।’ सो संशोधित नियमावली जस्ताको तस्तै पास हुनु पर्ने माग पनि उहाँले गर्नुभयो । व्यवसाय बचाउन यो ऐनको संशोधन जरुरी रहेको उहाँको भनाई छ ।

यता लेखापढी व्यवसायीहरु पनि इमान्दार र व्यवसायिक हुन जरुरी रहेको उहाँले बताउनु भयो । व्यवसायीलाई सेवामूखी बन्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘व्यवसायीले व्यापारिक बन्न मिल्दैन । यदि व्यापारिक बन्ने हो भने तपाईंको पेशा पनि रहँदैन र तपाईं पनि यहाँ रहन सक्नु हुन्न ।

त्यसैले आफू इमान्दार बन्दै व्यवसाय सञ्चालनगर्ने र व्यवसायीको संगठनभित्र रहने कामगर्नुपर्दछ । संगठन छ हामी छौँ, संगठन छैन हामी छैनौं । यदि संगठन थिएन भने अहिले यो अवस्थामा हामी रहने थिएनौं यो कुरा बुझ्न जरुरी छ ।’

Facebook Comments