Fri. Oct 18th, 2024

चुनावीसभामा होमिए खोटाङका राजनीतिक दल   

खोटाङ, २०७९ कात्तिक २० गते आईतबार । आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशससभा सदस्य निर्वाचनका लागि खोटाङका राजनीतिक दल तथा उम्मेदवार खुला चुनावीसभामा होमिएका छन् । गत असोज २३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेलगत्तै घरदैलो अभियानमा जुटेका राजनीतिक दल तथा उम्मेदवारले शुक्रबारदेखि औपचारिकरूपमा चुनावीसभा सुरु गरेका हुन् ।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि प्रचार-प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभालगायत कार्यक्रम गर्न अनुमति दिएपछि दलहरूले शीर्षनेतृत्वलाई समेत जिल्लाका चुनावीसभामा झिकाएका छन् । आफ्नो पक्षमा माहोल बनाउन राष्ट्रियस्तरका कलाकारलाई समेत चुनावीसभामा झिकाएका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनले शुक्रबार नै खोटाङबजारबाट संयुक्त चुनावीसभा गरेर प्रचार सुरु गरेको छ । गठबन्धनले आगामी कातिक २९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा चुनावीसभाको आयोजना गरिएको जनाएको छ । खोटाङबजारमा भएको कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राई, प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’, कांग्रेसका महासमिति सदस्य एवं पूर्वराज्यमन्त्री सर्वधन राई, प्रदेश प्रदेशसभा (२)का लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका भूपेन्द्र राईलागायतले सम्बोधन गर्नुभएको थियो ।

कात्तिक १९ गते साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा, २० गते ऐंसेलुखर्क गाउँपालिकाको ऐंसेलुखर्क बजार, २१ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, २२ गते रावाबेँसी गाउँपालिकाको हरमटारमा गठबन्धनको चुनावीसभा हुने प्रचार–प्रसार समितिका संयोजक टङ्क थापाले जानकारी दिनुभयो । यस्तै कात्तिक २३ गते हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, २५ गते जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी, २६ गते बराहपोखरी गाउँपालिकाको धर्तुङ, २८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमीबजार र कात्तिक २९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित हेलिप्याडमा संयुक्त चुनावीसभा हुने गठबन्धनले जनाएको छ ।

गठबन्धनबाट प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई उम्मेदवार रहनुभएको छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी छन् । गठबन्धनविरुद्ध प्रदेशसभा (१)मा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका धर्मराज पोखरेलले पनि आफ्नो चुनावी कार्यक्रम गरिरहनुभएको छ । गठबन्धनको सिट बाँडफाँट र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पोखरेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

नेकपा (एमाले)ले शनिबार ऐंसेलुखर्कमा चुनावीसभा गरेर खुला प्रचार सुरु गरेको छ । एमालेका अनुसार कात्तिक २० गते रावाबेँसी गाउँपालिकाको हरमटारमा, २३ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमी बजार, २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपास्थित पञ्चरदोबाटो, २६ गते साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा चुनावीसभा गर्ने तयारी गरिएको प्रचार-प्रसार समितिले जनाएको छ । यस्तै कात्तिक २७ गते दिक्तेल बजार, २८ गते जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी, २९ गते हलेसी, ३० गते खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी र मङ्सिर १ गते बराहपोखरी गाउँपालिकाको धर्तुङमा चुनावीसभा गर्ने कार्यतालिका तय गरिएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिनुभयो ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवं निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (१) मा प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (२)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रनुभएको छ । एमालेले केन्द्रमा जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरे पनि जिल्लामा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा जसपाले पनि जिल्लामा चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । जसपाबाट प्रतिनिधिसभामा डा कृष्णकुमार राई ‘केके’, प्रदेशसभा (१)मा राकेश राई र प्रदेशसभा (२)मा प्रेमकुमार राई चुनावी मैदानमा उत्रनुभएको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी कायम रहेका नेता आ-आफ्नो पक्षमा माहोल बनाउन चुनावी कार्यक्रम लिएर जिल्ला दौडाहमा लाग्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा ‘१’मा स्वतन्त्रसहित आठ-आठ तथा प्रदेशसभा ‘२’मा छ जना चुनावी मैदानमा उत्रिएका छन् । यद्यपि एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम-लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । रासस

Facebook Comments