Tue. Jul 28th, 2026

धार्मिक सहिष्णुता कायम राख्न झापाको आह्वान

       

भद्रपुर (झापा) । सुनसरी घटनापछि धार्मिक सहिष्णुतामा कुनै आँच आउन नदिन यहाँको  जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र धार्मिक समुदाय एकै ठाउँमा उभिएका छन् ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न बैठकमा जिल्लाका विभिन्न धार्मिक सङ्घसंस्था, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सामाजिक अगुवाहरूको सहभागिता थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सुनसरीमा भएको घटना दुःखद् भएको उल्लेख गर्दै झापामा यस्ता घटना दोहोरिन नदिन समयमै आवश्यक पूर्वसावधानी अपनाउन सद्भाव बैठक आयोजना गरिएको बताउनुभयो । उहाँले जिल्लाका सबै पालिकासँग समन्वय गर्दै धार्मिक सङ्घसंस्थाबीच निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने जानकारी दिनुभयो ।

“धार्मिक विविधता हाम्रो साझा सम्पत्ति हो । कुनै पनि परिस्थितिमा सद्भाव, सहिष्णुता र आपसी विश्वासलाई कमजोर हुन दिनु हुँदैन”, प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो ।

अन्तरधार्मिक सञ्जाल झापाका अध्यक्ष राजकुमार राईले समाजमा एकता, सद्भाव र सहिष्णुता कायम राख्न संस्था सधैँ सक्रिय रहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण सहअस्तित्व र सामाजिक एकताका पक्षमा निरन्तर वकालत गर्दै आएको उल्लेख गर्नुभयो । मुस्लिम समाज विकास समिति झापाका अध्यक्ष मोहमद राफीले सबै समुदायबीच आपसी सम्मान, संवाद र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वसांसद तथा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले जिल्लाका १५ वटै स्थानीय तहमा धार्मिक सङ्घसंस्थालाई सहभागी गराई सद्भाव बैठक सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संवेदनशील समयमा प्रशासनले लिएको पहललाई सकारात्मक कदमका रूपमा लिँदै समयमै सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले नेपालको संविधानले धर्मनिरपेक्ष राष्ट्रको व्यवस्था गरेको स्मरण गराउँदै सबैले एकअर्काको धर्म र आस्थाको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले एउटा स्थानमा भएको धार्मिक विवादको प्रभाव अन्यत्र फैलिन नदिन सबैपक्ष सचेत हुनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले झापामा विगतमा धार्मिक द्वन्द्वको इतिहास नरहेको स्पष्ट पार्नुभयो । उहाँले गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उदाहरण दिँदै आगामी दिनमा पनि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल तथा समुदायबीचको समन्वय र सहयोगलाई निरन्तर कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सहभागीले धार्मिक सहिष्णुता, आपसी विश्वास र सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै कुनै पनि अफवाह वा उक्साहटबाट प्रभावित नहुन सबै समुदायलाई सचेत रहन आग्रह गरेका थिए । रासस

Facebook Comments

सम्बन्धित समाचार