Sat. Oct 19th, 2024

एमाले जनताको सुख-दु:खको साथी हो : ईश्वर पोख्रेल

काठमाण्डौं,  २०७९ कात्तिक १९ गते शनिबार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले आफ्नो पार्टी जनताको सुखदुखको साथी भएको र जनमतको सँधै सम्मान गरेको बताउनु भएको छ ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी, टोखा नगरपालिका वडा नम्वर ७ ले आज आयोजना गरेको उम्मेदवार मतदाता अन्तरक्रिया कार्यक्रममा बोल्दै पोख्रेलले सो विचार व्यक्त गर्नुभएको हो ।

प्रतिनिधी सभाको मंसिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्वर ५ बाट उम्मेदवारी दिनुभएका पोख्रेलले नेकपा एमाले जनताको सुखदुखको साथीको रुपमा सदैव जनतासँग रहेको बताउनु भयो । देश विकासमा अग्रणी भूमिका निर्वाह गर्ने युवा जनशक्तिको सिर्जनशीलता र क्षमतालाई स्वदेशभित्रै लगाउन कृषि र सेवाजन्य उत्पादनमुलक उद्योगको विकासका लागि आफूले प्रयत्न गरिरहेको उहाँले बताउनु भयो ।

स्थानीय तह निर्वाचनमा देशका धेरै स्थानहरुमा आफ्नो पार्टीले विजयी हासिल गरेको हुँदा स्थानीय क्षेत्रको विकासलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका आफ्नो पार्टीका उम्मेदवाहरुलाई जिताउनु आवश्यक हुने पोख्रेलको धारणा थियो ।

नाकाबन्दीले मुलुकको भाग्य र भविष्यमाथि प्रश्नचिन्ह उठाएको कठीन समयमा समेत एमालेले राष्ट्रियताका पक्षमा दृढतापूर्वक लड्ने नेकपा एमालेले कहिल्यै पनि जनमतको अपमान नगरेको पोख्रेलले बताउनु भयो ।

सो कार्यक्रममा बोल्नुहुँदै काठमाडौं निर्वाचन क्षेत्र नम्वर ५ (२) का लागि नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार दीपक निरौंलाले निर्वाचन क्षेत्र नम्वर ५ मा देखिएको खानेपानी समस्याको सामाधानको लागि ४० लाख लिटर क्षमताको रिजर्भ ट्याङीको निर्माण र मेलम्ची खानेपानी आयोजनाको व्यवस्थित वितरणमा ध्यान दिने बताउनु भयो । साथै उहाँले शिवपुरी मा.वि. र तिलिङटार मा.वि.मा सञ्चालन भैरहेको प्राविधिक तथा व्यावसायिक तालिमलाई विस्तार, युवा लक्षित प्राविधिक तालिम सञ्चालन र स्वरोजगार सृजना, टोखा चण्डेश्वरी प्रदेश अस्पतालको स्तरोन्नती जस्ता विषयलाई आफुले महत्वका साथ उठाएको जानकारी दिनुभयो ।

Facebook Comments