Sat. Oct 19th, 2024

अभिनेता बुद्धि तामाङ ‘हैट’ को मागी विवाह

रे समाचार/काठमाण्डौं, २०७९ असोज ७ गते शुक्रबार । कलाकार बुद्धि तामाङ ‘हैट’ वैवाहिक जीवनमा बाँधिनुभएको छ । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उहाँले मकवानपुरकी अनु थिङसँग विवाह गर्नुभएको हो ।

तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु र केदार घिमिरे ‘माग्ने बुढा’, विजय बराल, अनुप बराल, अशोक शर्मा, दीपाश्री निरौला लगायतका कलाकारहरुको  उपस्थित रहेको थियो । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु स्नातक तहमा अध्ययनरत् हुनुहुन्छ ।

‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् । कलाकार बुद्धि तामाङले  रंगमञ्चमार्फत अभिनय यात्रा सुरु गर्नुभएको हो । उहाँले अभिनय गर्नुभएको कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइँ नभन्नु ल, वीर बिक्रम, जय भोले, वडा नम्बर ६ लगायतका थुप्रै चलचित्र सुपरहिट रहेका छन् ।

काभ्रेको तेमाल गाउँपालिका-३ कुडवालमा जन्मिनु भएका तामाङले चलचित्रबाहेक सयौँको संख्यामा म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसक्नुभएको छ । उहाँ झण्डै २ दशकदेखि कला क्षेत्रमा सक्रिय रहनुभएको छ ।

Facebook Comments